“विकास निर्माण (आयोजना ) व्यवस्थापन र आयोजना ब्यबस्थापक”

बिकास निर्माण (आयोजना) व्यवस्थापनले कुनै पनि पुर्बाधार परियोजनाको प्रारम्भिक चरण देखि सो योजना सम्पन्न र हस्तान्तरण सम्मका सबै पक्षहरूमा समन्वय, निर्माण कार्य, बिधि र प्रबिधिको प्रयोग, सुपरिवेक्षण, ब्याबसायिकता कार्यान्वयन, निरीक्षण, अनुगमन गर्ने प्रक्रियालाई समेत बुझाउँदछ । यस अन्तर्गत आयोजना स्थल छनौट, जग्गा प्राप्ति, डिजाइन, DPR, लागत अनुमान, स्वीकृति, बाताबरणिय प्रभाव मुल्यांकन, ठेक्का ब्यबस्थापन, निर्माणको चरण, अनुगमन र सुपरिवेक्षण र वित्तीय व्यवस्थापन समेतका गतिविधिहरू समावेश हुन्छन् । विकास निर्माण आयोजना व्यवस्थापन भनेको परियोजना विकास गर्ने सम्पूर्ण प्रक्रियाको एकमुष्ट व्यवस्थापन गर्ने कार्य भनेर बुझिन्छ । आयोजना ब्यबस्थापक भन्नाले ती सबै उद्देश्य पूरा गर्ने र परियोजनाले लिएको लक्ष्य समय मै प्राप्त गर्ने ब्यक्ति भनेर बुझ्नु पर्दछ । परियोजना गुणस्तरीय ढंगले समय मै सम्पन्न गर्नु आयोजना ब्यबस्थापकको प्रमुख कार्य हो । परियोजनाहरुमा हुनसक्ने जोखिमहरू कसरी कम गर्ने, लागत बढ्न नदिने, गुणस्तर न्यूनीकरण हुन नदिने र आयोजनालाई समग्र रुपले सस्तो, भरपर्दो, लक्षित उद्देश्य प्राप्त गर्न सक्ने दिगो र गुणस्तरीय बनाउनु नै आयोजना ब्यबस्थापकको जिम्मेवारी र दाइत्व हो । बिकास निर्माण (आयोजना) ब्यबस्थापनलाई चुस्त दुरुस्त बनाउन आयोजना ब्यबस्थापकले निम्न पक्षहरुमा ध्यान पुराउन जरुरी हुन्छ । आयोजना ब्यबस्थापकले आफ्नो जिम्मेवारी, कुशलतापूर्वक र प्रभावकारी रूपमा सम्पन्न गरिरहेको छ छैन भन्ने कुरा तल उल्लेखित पक्षहरुको उसले सहि कार्यान्वयन गरेको छ छैन भन्ने कुराबाट मापन गर्न सकिन्छ । यिनै पक्षहरुको प्रभाकारि उपयोगबाट आयोजना ब्यबस्थापकले आफ्नो ब्यबस्थापकिय क्षमतामा निखार ल्याउन सक्दछ ।

१) रणनीतिक निर्णय (Strategic Decision): विकास निर्माण (आयोजना) व्यवस्थापनमा ब्यबस्थापकले लिने रणनीतिक निर्णयले परियोजनाहरुको समग्र जीवनचक्रमा नै प्रभाव पार्दछ। आयोजना ब्यबस्थापकले लिने रणनीतिक निर्णयहरूले परियोजनाको सम्पन्नता, लक्ष्य प्राप्ति र दृष्टिकोण प्रभावित हुने र सुनिश्चित दुबै हुने गर्ने गर्दछ । त्यसैले आयोजना ब्यबस्थापक जहिले पनि रणनीतिक रुपले तयार रहनु पर्दछ ।

२) समन्वय र एकीकरण (Coordination and Integration): बिकास निर्माण(आयोजना) ब्यबस्थापनमा आयोजना ब्यबस्थापकले प्राबिधिक, निर्माण ब्यबसायी, सुपरिवेक्षक र नियामक निकायहरू लगायतका अन्य सरोकारवालाहरू बीच समेत समन्वयात्मक भुमिका निर्वाह गर्नु पदर्छ, निर्माण कार्यमा सहजता र सुनिश्चितता गरोस । जसले गर्दा हुनसक्ने द्वन्द्व र बिवादहरूलाई रोक्न सकोस ।

३) वित्तीय व्यवस्थापन (Financial Management): विकास निर्माण (आयोजना)व्यवस्थापनमा परियोजनाको लागि आबस्यक बजेटको व्यवस्थापन एक प्रमुख पक्ष हो ।परियोजनामा वित्तपोषण सुरक्षित गर्न सकिएन भने आयोजना प्रभावित हुन पुग्छन । त्यसैले आयोजना ब्यबस्थापकले वित्तीय ब्यबस्थापन सुनिश्चित गर्ने र आयोजनाको माग अनुसार समय मै बित्तीय पोषण दिन सक्ने हुन जरुरी छ ताकि परियोजना सही ढंगले सुचारु हुँदै सम्पन्न होस्।

४) जोखिम व्यवस्थापन (Risk Management): बिकास निर्माण (आयोजना) ब्यबस्थापनमा सम्भावित जोखिमहरूको (जस्तै: लागत वृद्धि, ढिलाइ, नियामक निकायहरुको नियन्त्रण, स्थानीय र सरोकार राख्नेहरूको माग, मुद्दामामिला, दुर्घटनाहरु) पहिचान गर्ने र तिनीहरूको प्रभावलाई न्यूनीकरण गर्न रणनीति रुपले आयोजना ब्यबस्थापक सधै तमतयार रहनु पर्दछ ।

५) सरोकारवालाहरुको संलग्नता (Stakeholder Engagement): विकास निर्माण आयोजना व्यवस्थापकले जहिले पनि स्थानीय समुदाय लगायत सरोकारवालाहरू सँग नियमित छलफल, समन्वय र संलग्नतामा जोड दिनु पर्छ ताकि उनीहरूको आवश्यकता, माग र सरोकारहरूलाई यथोचित समय मै सम्बोधन गर्न सकियोस्।

६) कानुनहरुको पालना (Compliance): विकास निर्माण आयोजना ब्यबस्थापकले परियोजना सँग सम्बन्धित रहेका सबै नियम कानुनहरू, संहिताहरू, कार्यबिधिहरुको ज्ञान राख्नुपर्ने र तोकिएका सबै मापदण्डहरूको पालना गर्ने गर्नु पर्दछ ।

७) परियोजना हस्तान्तरण (Project Delivery): बिकास निर्माण आयोजना ब्यबस्थापकको अन्तिम लक्ष्य भनेको एक स्वस्थ परियोजनालाई तोकिएको निश्चित समय भित्र, तोकिएको बजेट भित्र र तोकिएको गुणस्तर मापदण्ड अनुसार सम्पन्न गरि आयोजना हस्तान्तरण गर्नु हो । यसमा आयोजना ब्यबस्थापक चुक्नु हुँदैन ।

✍️राम शरण देउजा आयोजना ब्यबस्थापन बिज्ञ महासचिव, नेपाल निर्माण उद्योग परिषद् (NCIC) अध्यक्ष, सिभिल इन्जिनियरिङ ल्याबरेटोरी यसोशिएसन अफ नेपाल (CELAN)