पार्टीमा गुटबन्दी र स्वार्थ समूहमाथी कारबाही गरिन्छ : माओाबादी केन्द्र अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको सर्कुलर अनुसार अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले पार्टीमा गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने समेत चेतावनी दिनुभएको छ ।

उहाँले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै ‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ। स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो। पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई नभएको समेत चेतावनी दिनुभएको छ ।

उहाँले पार्टीको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएको भन्दै आत्मसमीक्षा गर्न निर्देशन दिनुभएको थियो । अध्यक्ष प्रचण्ड नै पटक पटक भन्दा पनि आत्मसमीक्षा गर्नु भन्दा पनि नगरेको भन्दै सर्कुलर समेत पठाइएको बताइएको छ । उहाँले प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै अब आसन्न केन्द्रीय समिति बैठकपछि गाउँगाउँमा संगठन निर्माण र विस्तारका लागि नेतालाई जिम्मा दिएर पठाउने तयारी भइरहेको समेत बताउनु भएको छ । उहाँले हिजोका उपलब्धिलाई उल्टाउने प्रयास हुनसक्ने भन्दै त्यसका विरुद्ध लड्नका लागि नेता कार्यकर्ता उच्च मनोबल, वैचारिक स्पष्टताका साथ एकजुट हुन समेत निर्देशन दिनुभएको छ ।