रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ । रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनले सिंहदरबारमा पुगेर शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । सभामुखको निर्वाचन आइतबार हुँदैछ ।  नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।

सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । संसदलाई सहमति र सहकार्यको थलो कायम राख्न उम्मेदवारी नदिने निर्णय भएको हो ।’