काँग्रेस सभापति देउवा र महामन्त्री थापाबीच भेटबार्ता, महाधिबेशन बारे छलफल

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ। सभापति देउवा र महामन्त्री थापाबीच कांग्रेसको महाधिबेशन र प्रतिनिधि सभा निर्वाचनका बारेमा छलफल भएको बताइएको छ । उता केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि सुरू भए पनि महाधिवेशनबारे सहमति जुट्न नसकेपछि सहमति जुटाउने बारे पनि छलफल भएको बताइएको छ ।

उता कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पटक पटक केन्द्रीय समिति बैठक स्थगित गर्दै आएका छन्। भोलिका लागि केन्द्रीय समिति बैठक सारिएको थियो। केन्द्रीय समिति बैठकअघि सभापति देउवा पनि नेताहरूसँग छलफल गरी सहमति जुटाउन क्रियाशील छन्। सभापति देउवाले विहिबार आफूनिकट केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

महामन्त्री थापाले कात्तिक १८ को केन्द्रीय समिति बैठकमा पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका थिए। पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प नहुने थापाको भनार्इ रहेको छ। तर सभापति देउवा विशेष महाधिवेशनका पक्षमा नभएको बताइएको छ । सभापति देउवा महामन्त्री थापाले केन्द्रीय समितिमा प्रस्ताव गरेको सोही कार्यतालिकाको वरपर १५ औं महाधिवेशन गर्न तयार देखिएको अवस्थामा उहाँले महामन्त्री थापालाई कुराकानी गरेको बताइएको छ ।