नक्कली कागजात पेश गरि बेलडाँडी गापाको उपाध्यक्ष शान्ति नाथले लिइन ३३ लाख : अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले नभएको तीनतले पक्की घरको नक्सा बनाएर बैंकबाट ३३ लाखभन्दा बढी ऋण लिएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष नाथसहित बिहीबार चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार नाथले आफ्नै नाममा दर्ता रहेको कञ्चनपुर, साविक बेलडाँडी–८ को कित्ता नं ३५७ ९४०० बर्गमिटर० मा कुनै भवन नभए पनि सेती कन्सल्टेन्सीमार्फत पक्की घर भएको जस्तो नक्कली नक्सा तयार गराइन् ।
सोही नक्सा पास गराइ लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको छानबिनबाट पुष्टि भएको आयोगले जनाएको छ । आयोगका अनुसार नक्सा पास गर्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारले मिलोमतो गरी ‘भवन नभएको जग्गामा पक्की घर छ’ भनी झुट्टा अभिलेखीकरण गरेका थिए ।
नक्सामा ग्राउण्ड फ्लोरदेखि दोस्रो तलासम्म सटर, कोठा, ग्यालरी, सिढी र किचनसहितको ३ तले पक्की भवन उल्लेख गरिएको थियो । तर आयोगबाट खटिएको टोलीले स्थलगत अनुगमन गर्दा त्यहाँ एक इट्टासम्म नचिनिएको, नापी कार्यालय बेलौरीको प्रतिवेदनले समेत उक्त जग्गामा कुनै संरचना नरहेको किटानी प्रमाणित गरिदिएको थियो । अख्तियारका अनुसार, शान्ति नाथले ‘जेथाले खाम्नेभन्दा धेरै ऋण काढ्ने गलत नियतले’ नक्कली नक्सा तयार गराएको र गाउँपालिकाका अधिकारी तथा प्राविधिकले मिलोमतो गर्दै झुट्टा कागजात प्रमाणित गरिदिएको पूर्णरूपमा स्थापित भएको हो ।
यसकै आधारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशी, सव–इन्जिनियर कुँवर र असिस्टेन्ट सव–इन्जिनियर सुनार विरुद्ध भ्रष्टाचार निवारण ऐन दफा ९ बमोजिम सजाय मागदाबी गरिएको छ । उपाध्यक्ष तथा जग्गाधनी शान्ति नाथ विरुद्ध मुख्य कसूरदार बराबर, सोही ऐनको दफा २२ अनुसार सजाय मागदाबी गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।


