राष्ट्र बैंकको प्रतिबेदनमा मुल्यबृद्धि घट्यो : उपभोक्ताको चुलोमा झन बढ्यो
काठमाडौँ । देशको समग्र मूल्यवृद्धि दर घटेको प्रतिबेदन राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकको मासिक तथ्याङ्क प्रतिबेदन सार्वजनिक गर्दै सो कुराको उल्लेख गरेको छ । विवरण अनुसार कात्तिक महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर १ दशमलव ११ प्रतिशत कायम रहेको बैंकले दाबी गरेको छ । भने बास्तविक रुपमा बजारमा भने मृल्यबृद्धि भएको उपभोक्ताहरुले बताउदै आएका छन् । बैंकले असोज महिनासम्म यो दर १ दशमलव ४७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षको यही समयमा भने मूल्यवृद्धि दर ५ दशमलव ६० प्रतिशत रहेको दाबी समेत राष्ट्र बैंकले गरेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६९ प्रतिशत रहेको बैकले जनाएइको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९ दशमलव १० प्रतिशत र ३ दशमलव ६५ प्रतिशत रहेको थियो । उता चालु आर्थिक वर्षको चार महिनाको औसत मुद्रास्फीति १ दशमलव ५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४ दशमलव ५९ प्रतिशत रहेको थियो ।
यो महिना खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ५ दशमलव २५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३ दशमलव ६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १ दशमलव ९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४ दशमलव ४३ प्रतिशत, मरमसलाको ७ दशमलव ८५ प्रतिशत र दाल तथा गेडागुडीको ५ दशमलव ३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक १५ दशमलव १७ प्रतिशत, शिक्षाको ७ दशमलव ५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६ दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४ दशमलव ८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४ दशमलव ५५ प्रतिशतले बढेको छ ।
बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ० दशमलव २३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक ० दशमलव ६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचक १ दशमलव २६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ८० प्रतिशत, मधेस प्रदेशको १ दशमलव ७३ प्रतिशत, बागमती प्रदेशको ० दशमलव ८१ प्रतिशत, गण्डकी प्रदेशको ० दशमलव ३७ प्रतिशत, लुम्बिनी प्रदेशको १ दशमलव २७ प्रतिशत, कर्णाली प्रदेशको १ दशमलव ०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ० दशमलव २६ प्रतिशत रहेको छ ।
यो महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव १६ प्रतिशत, तराईको १ दशमलव २४ प्रतिशत, पहाडको ० दशमलव ८८ प्रतिशत र हिमालको १ दशमलव ०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको हो ।
गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि भएको देखिएको छ । राष्ट्र बैंकले जारी गरेको चार महिनाको मासिक प्रतिवेदन अनुसार गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५।३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८।२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा चालु आर्थिक वर्षको चार महिना ९साउन–कात्तिक० मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१ दशमलव ४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले बढेको थियो ।
पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो । जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।


