ठेक्का हाल्न कसैलाई रोक्न सकिदैन : अध्यक्ष सूर्य भण्डारी

काठमाडौं । सरकारले सुरु गरेको ई–बिडिङ मार्फत देशभरबाट जसले पनि ठेक्का हाल्न पाउने भएकाले कोही कसैले रोकेर रोक्न नसक्ने गोरखा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष सूर्य भण्डारीले बताएका छन् । उनले केही दिन अघि केही मिडियामा आएको समाचारप्रति लक्षित गरि टेन्डरमा मिलिमतो र आफ्नो भन्दा बाहिरका व्यवसायीलाई टेन्डर हाल्न रोक लगाइएको भन्नु टेन्डर प्रकृया नै नबुझ्नेले लगाएको आरोप भएको बताएका छन् । टेन्डरमा सार्वजनिक खरिद ऐन र नियमावली भन्दा बाहिर गएर कोही कसैले काम नगरेको समेत उनले बताएका छन् ।

निर्माण व्यवसायी संघ गोरखाले जिल्लामा विकास निर्माणका कामहरु समयमै गुणस्तरिय रुपले सम्पन्न होस भन्ने उदेश्य राखी ठेक्कामा सहजीकरण गरेको सम्बन्धित निकायलाई कच्चा पदार्थको स्रोत निश्चित गर्न पत्र नै पठाएर आग्रह गरेको समेत अध्यक्ष भण्डारीले बताएका छन् । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउँदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा ठेक्का बाँड्ने कार्य नगरिएको समेत उनले बताएका छन् ।

आजसम्म व्यवसायीलाई धम्क्याउने र तर्साउने कार्य संघबाट नभएको र सो कार्य गर्न समेत नदिएको अध्यक्ष भण्डारीको भनाई रहेको छ । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार खुल्ला प्रतिस्पर्धा मार्फत स्वच्छ र निष्पक्ष ढंगले ठेक्का हाल्न पाउने अधिकार सबै निर्माण व्यवसायीलाई रहेकाले सोही अनुसार काम भई रहेको समेत बताइएको छ ।