प्रधानमन्त्री कार्कीद्वारा ५ औं पटक मन्त्रीमण्डल पुनः विस्तार

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार पुनः मन्त्रीमण्डल विस्तार गरेकी छिन । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने गरि मन्त्रीमा नियुक्त गरेको बताइएएको छ ।

परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी छिन् । केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

उनको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् ।

बालानन्द शर्मा को हुन् ?

पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।