लमजुङमा निर्माणाधीन सुपर खुदी जलविद्युतको मुख्य सुरुङ छेडियो
नवीनराज कुइँकेल
लमजुङ । लमजुङमा निर्माणाधीन सुपरखुदी जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । मस्र्याङ्दी गाउँपालिका –२ घनपोखरामा निर्माणाधीन २६ मेगावाट क्षमताको यस आयोजनाले ४. ३७१ किलोमिटरको मुख्य सुरुङको ब्रेकथ्रु गरेको हो । मुख्य सुरुङको ब्रेक थ्रुसँगै आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
सुपर खुदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको बाँधस्थल, विद्युतगृह, पेनस्टक पाइप जडान लगायतका काम धमाधम भइरहेको आयोजनाका सर्वेयर कुलबहादुर विकले जानकारी दिएका छन् । सतही विद्युत गृहमा १३–१३ मेगावाटका २ वटा उत्पादन युनिट रहने आयोजनाले जनाएको छ ।
आयोजनाको मुख्य सुरुङ छेडिएपछि उत्साह थपिएको निर्माण पक्षले जनाएको छ । आयोजनाका साइड इन्चार्ज कृष्णदास श्रेष्ठले भने, “हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौँ, यो ठुलो उपलब्धि हो, अब अन्य काम पनि समयमा नै सक्नेगरी तिव्रता दिएका छौं ।” २०८२ चैतभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
४ अर्ब १९ करोड रुपियाँ कूल लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा बैंकले ७० प्रतिशत लगानी गर्नेछ । आयोजनामा बैंकको ३ अर्ब ३ करोड रुपियाँ र एक अर्ब १६ करोड रुपियाँ स्वपूँजी लगानी छ । कम्पनीले आयोजना निर्माण गर्न २०७५ जेठ १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० गरेको थियो ।
पिपिएअनुसार आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८. ४० रुपियाँ र बर्खामा ४.८० रुपियाँमा प्राधिकरणले खरिद गर्नेछ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत विद्युत गृहदेखि ५ किलोमिटर दूरीको टारीकुना सबस्टेशनमा जोडिनेछ । सबस्टेशनसम्म आवश्यक १३२ केभी प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ ।
आयोजनाले वार्षिक १३९.२२ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । आयोजनाले स्थानीयसहित सर्वसाधरणका लागि केही दिनमा आइपीओ निष्काशन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि ३१ करोड रुपियाँ बराबरको ३१ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ । यस आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । (गोरखापत्र दैनिकबाट)


