ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने छ: एमाले अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो दाबी गरेका हुन ।

उनले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले भने,‘जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन, उनीहरुको मोर्चाबन्दीले एमालेलाई कुनै फरक पर्दैन ।’

उनले ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिएका छन् ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना रु ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताएका छन् । प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको बताएकी छिन् ।