काँग्रेस फुट्ने अबस्था आएमा महाधिबेशन हलबाट बाहिरिने छु : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् । काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने उनले उल्लेख गरेका छन् । विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।
विशेष महाधिवेशनबारे उठिरहेका प्रश्नहरूको जवाफ दिँदै पार्टी विभाजनको आशंका अस्वीकार गरेका शर्माले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’ यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ । त्यसमा शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछिको परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएका छन् । विशेष महाधिवेशन गर्नैपर्नाको कारणबारे उनले बदलिएको राष्ट्रिय परिस्थिति, नयाँ चुनौती र पार्टीको दायित्वलाई प्रमुख रुपमा अघि सारेका छन् । ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन आवश्यक भएको तर्क गरेका छन् ।
विशेष महाधिवेशन माग्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान चलाएका थिए । सो अभियानमा ४० प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेकाले विधान अनुसार विशेष महाधिवेशन गर्नैपर्ने तर्क शर्माको छ । कांग्रेस विधानको धारा १७९२० अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराएका छन् ।
हस्ताक्षर नगरेका महाधिवेशन प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन् । महाधिवेशनले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा असर नपार्ने पनि शर्माको दाबी छ । विशेष महाधिवेशनपछि निर्वाचनमा गएमा परिणाम राम्रो हुने शर्माको विश्वास छ । ‘मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले राम्रो परिणाम दिन्छ,’ उनले लेखेका छन् । विशेष महाधिवेशनलाई ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ भएको संकल्पका रूपमा लिन उनले अपिल समेत गरेका छन् ।


