कालिञ्चोक दर्शनको आइपिओ खुल्यो
सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको छ । सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपिओ खरिदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
उक्त आइपिओ छिटोमा माघ ६ गतेसम्म बिक्री खुला रहनेछ भने छिटोे अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७७७८ मा तीन करोड ६९ लाख रूपैयाँ आम्दानी गरेको छ। कम्पनीले ३५ कोठाको होटल निर्माणमा करिब २५ करोड लगानी गर्ने रणनीति बनाएको छ ।


