देशभर चुनावी सरगर्मी : सिन्धुपाल्चोकमा कस्ले पाए टिकट ?
काठमाडौं । मुलुकमा चुनावी सरगर्मी बढेसंगै सिन्धुपाल्चोकमा पनि यसको प्रभाव देखिएको छ । यस जिल्लामा रहेका पुराना दल मध्ये नेकपा एमाले र तत्कालिन नेकपा माओबादी केन्द्र हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यकालागि उमेदवार चयन गरिसक्दा समेत नेपाली काँग्रेस भने उमेदवारको खोजीकै क्रममा रुमलिएको छ । एमालेको हालै सम्पन्न महाधिबेशनमा ४० वर्ष मुनीको युवा कोटामा महाधिबेशन प्रतिनिधि छनोट भएका आङ्दोर्जे शेर्पाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को टिकट लिएको खबर आइतबार दिनभरी चर्चामा रहेपनि आईतबार बेलुका भक्तपुर गुन्डुको आर्शिवादबाट एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले टिकट हत्याएका छन ।
एमाले निकट एक सदस्यका अनुसार युवा उमेदवार शेर्पा गएको अधिबेशनमा अरुण नेपाल समुहबाट जिल्लामा निर्वाचित भई केन्द्रमा ईश्वर पोखरेललाई सहयोग गरेकै कारण उनले पाएको टिकट रातारात एमाले अध्यक्ष केपी शर्मा ओली निकट श्रेष्ठले हत्याउन सफल भएका छन् । यसैगरी, सोही क्षेत्रमा गत निर्वाचनमा नेपाली काँग्रेससंग गठबन्धन गरेर नेकपा माओबादीको तर्फबाट चुनाव जितेका माधब सापकोटा ‘सुबोध’ अहिले माओबादी पार्टीको अस्तित्व नै समाप्त पारी गठन भएको नेकपाको उम्मेद्वार बनेका छन् ।
उता, नेपाली काँग्रेसको विशेष अधिबेशन मार्फत सभापतिमा गगनकुमार थापा निर्वाचित भएसंगै सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पुर्वमन्त्री समेत रहेका मोहनबहादुर बस्नेतको टिकट तत्कालकालागि अनिश्चित बन्न पुगेको छ । जवकि उक्त क्षेत्रबाट बस्नेतको नाम एकल सिफारिस भएको थियो । उक्त क्षेत्रमा सभापति थापा निटक मानिएका जिल्ला सभापति जंगबहादुर तामाङ, नेपाल उद्योग वाणिज्य महासंघका पुर्वसदस्य एवम् काँग्रेस महासमिति सदस्य विष्णुबहादुर खत्री टिकटको प्रतिस्पर्धामा रहेका छन् ।
संगै नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री बलदेव तिमल्सिनाको नामपनि चर्चामा छ । यसैगरी उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट भरत पराजुली र रमेश पौडेलको नाम चर्चामा रहेको छ । यसैगरी जिल्लाको क्षेत्र नम्बर २ मा भने एमालेका तर्फबाट शेरबहादुर तामाङ र नेकपाको तर्फबाट बागमती प्रदेश सभा सदस्य रहेका युवराज दुलालको नाम टुङ्गो लागी सकेको छ । उता नेपाली काँग्रेसले भने अझै पनि उम्मेदबारको नाम टुङ्गो लगाउन सकेको छैन । काँग्रेसका तर्फबाट काँग्रेस महासमिति सदस्य रहेका बंशलाल तामाङको नाम चर्चामा रहेतापनि चाहेको खण्डमा काँग्रेस सभापति थापाकै निर्वाचन क्षेत्रमा रहेर पार्टीमा कृयाशिल रहेका पत्रकार तथा राजनितिक विश्लेषक सुर्दशन आचार्यको सम्भाबना अधिक देखिन्छ ।
काठमाडौं जिल्लाको क्षेत्र नम्बर ४ बाट आचार्यको नाम राष्ट्रिय सभाका लागि समेत सिफारिस भएको थियो । आफुलाई थापा निकट बताउदै आएका बंशलालले विशेष महाधिबेशनमा सहमहामन्त्री पदमा आकांक्षा राखेर प्रचारमा लागेपनि अन्त्यमा आई केन्द्रीय सदस्यमा समेत अटाउन सकेनन । महाधिबेशनको समयमा महाधिशेन प्रतिनिधि समक्ष सहमहामन्त्री दावि गर्दै हिडेका तामाङ केन्द्रीय सदस्य समेत हुन नसकेपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उनले टिकट पाउने विषयमा ढुक्क हुन सक्ने अबस्था देखिदैन ।
यदी राजनीतिक विश्लेषक आचार्यले नचाहेको खण्डमा र उनले सहमति दिएको अबस्थामा भने बंशलाल तामाङले टिकट पाउने बलियो आधार रहेको छ । तर, नेपाली काँग्रेस र मुलुकमा संकट परेको बेला अमेरिका बस्दै आएको अरोप बंशलाल माथी कायमै रहेको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पशुपति शम्शेर जंगबहादुर राणालाई एकल उम्मेदवार सिफासिर गरेपनि उनले नचाहेपछि बागमती प्रदेश सभा सदस्य समेत रहेकी क्षेत्रिय अध्यक्ष कुमारी तामाङलाई टिकट दिने तयारी गरिएको बुझिन आएको छ ।
उता, रास्वपाको भने जिल्ला अध्यक्ष रहेकी मायाँ गुरुङ नै उमेदवार हुने प्रायःनिश्चित देखिएको छ । रास्वपामा अमेरिका बस्दै आएका पत्रकार प्रेम बानियाँको नाम समेत चर्चामा छ ।
पुराना दलहरुको वर्चस्व रहेको सिन्धुपाल्चोकमा नयाँ दलको उदयसंगै निर्वाचनमा समेत प्रतिस्पर्धा हुने अबस्था रहेको छ । कुनै पनि राजनीतिक दलसंग एकता गरेनन भने कुलमान घिसिङ नेतृत्व उज्यालो नेपालले समेत उम्मेदवारको खोजी गरि रहेको बताइएको छ ।


