पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २८, साउन । संसद विघटन सहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । कानून व्यवसायी यज्ञमणि न्यौपानेले सो रिट दायर गर्नुभएको हो । सो रिटमा २०७७ फागुन ११ गते प्रतिनिधि सभाको विघटन बदर हुने आदेशको पूर्णपाठ निर्णय सुनाएको २१ दिनभित्र आउनुपर्नेमा हालसम्म नआएको भन्दै मुद्दा दायर गरिएको उल्लेख छ ।

न्यायाधीशले सेवा निवृत्त भएपछि पाँच वर्षसम्म फैसला तयार नगर्नु अदालतप्रति अवहेलनाको विषय हो भएको जनाइएको छ । कानून व्यवसायी न्यौपानेले फैसलामा एक मत नभए आफ्नै राय र एक मत भए सामूहिक रायसहितको फैसला लेखी प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नभएकोमा आपत्ति जनाउनु भएको छ ।