काठमाडौ । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सरकारले जनाएको छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई परिचालन गरेको बताइएको छ जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ ।
उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको बताइएको छ । तर उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने बारे केही खुलाइएको छैन ।
यसैगरी ईटिभी भारतले बिहारका खासगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीहरुलाई अलर्टमा राखिएको जनाएको छ र संदिग्ध गतिविधिलाई निगरानी गर्न भनिएको उल्लेख छ । यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए ।