पार्टीमा विवादित निर्णय गर्नुपरे भूमिकाबाटै बाहिरिने छु : कार्यवाहक सभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विवाद ल्याउने प्रस्ताव ल्याउन परेमा आफु भूमिकाबाट अलग्गिने घोषणा गर्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्यजन्य कारण देखाउँदै गत असोज २८ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिनु भएको थियो ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्ने विषयमा विवाद चर्किरहेका बेला कार्यवाहक सभापति खड्काले सो कुराको घोषणा गर्नुभएको नेता रामहरि खतिवडाले बताउनु भएको छ । कार्यवाहक सभापति खड्काले बहुमत र अल्पमतका आधारमा निर्णय नलिने बरु भूमिकाबाट अलग्गिने बताइरहेको खतिवडाले बताउनु भएको छ । उहाँले कांग्रेसमा गुट र फुटको नभई जुटको राजनीति आवश्यक रहेको पक्षमा खड्काले रहेको बताउनु भएको छ ।

कांग्रेसमा गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनबारेको विवादकै कारण लम्बिइरहेको छ । पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने एजेन्डासहित सुरु भएको बैठकमा फरक–फरक प्रस्ताव पेस भएपछि विवाद उत्कर्षमा पुग्नुका साथै सोही कारण बैठक पनि लम्बिइरहेको हो । केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

उनको कार्यतालिकालाई काउन्टर दिँदै त्यसैदिन बैठकमा वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । थापाको कार्यतालिकालाई पार्टीभित्रको संस्थापन इतर समूह र यादवको कार्यतालिकालाई संस्थापनले समर्थन गर्दै आफूहरूको अडानबाट कोही पनि पछि हट्न नमानेपछि महाधिवेशनबारेको विवाद उत्कर्षमा पुगेको हो ।

केन्द्रीय कार्यसमितिमा संस्थापनको बहुमत भएकाले पेलेर बहुमतका आधारमा अगाडि बढ्न नेताहरूले खड्कालाई दबाब दिइरहेका छन् । विवाद बढ्दै गएपछि मंसिर ६ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो भने बैठक ११ गते बिहीबारसम्म स्थगित गरेको थियो ।