भिजिट भिसामा प्रकरणमा सहसचिव तिर्थराज भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो । अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।
अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो । घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए । यो घटनामा तत्कालीन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।


