सीमा सुरक्षा बैठकमा ढलेका एसपी राजेश घिमिरेको निधन
विराटनगर । नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी भइरहेका बेला बेहोस भई ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० राजेश घिमिरेको निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रबार दिउँसो आयोजित बैठकमा सहभागी भइरहेकै अवस्थामा उनी बेहोश भएर ढलेका थिए । मोरङका सशस्त्र प्रहरी प्रमुख रहेका उनलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचारक्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्
। सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले घटना पुष्टि गरेका छन् । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको थियो,’ डीआईजी न्यौपानेले भने, ‘तत्काल अस्पताल पुर्याएर बचाउने प्रयास गरिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन ।’ अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए ।
बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । एसपी घिमिरेको नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएको थियो ।
उनी शनिबार नयाँ कार्यक्षेत्रमा जाने तयारीमा थिए । मोरङबाट बिदा हुनुअघि नै उनको असामयिक निधन भएको छ । हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ भने परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।


