आफ्नै स्वकीयलाई प्रधानमन्त्रीले सरकारी निकायमा नियुक्ति गर्नु सतप्रतिशत गलत : पुर्वशिक्षामन्त्री पुन

काठमाडौं । पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् ।

यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुनस् विवाद भएको छ । यसै सन्दर्भमा टिप्पणी गर्दै सुशीला कार्कीकै क्याविनेटमा मन्त्री भएका पुनले १०० प्रतिशत गलत काम भएको बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले राषट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आनै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो’, उनले लेखेका छन् । पूर्वमन्त्री पुनले नियुक्त गरिएका आदर्शलाई पनि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीको इज्जत धुलोमा मिसिन नदिन पद नदिन सुझाव दिएका छन् ।

यस्तै प्रकारका नातावाद र कृपावादका कारण पुराना दलहरु खराब भएको स्मरण गराउँदै महावीरले यही तरिकाले नयाँ दलहरु पनि कालान्तरमा मासिने टिप्पणी गरेका छन् । नयाँ नियुक्ति पाएका श्रेष्ठ यसअघि सचिवालयमा श्रीमतीसहित आफन्तलाई नियुक्त गरेपछि विवादित बनेका थिए ।

जेनजी आन्दोलनपछि संकटमा पुगेको मुलुकलाई राजनीतिक र संवैधानिक ट्र्याकमा ल्याउन प्रधानमन्त्री सुशीला कार्कीले सफल निर्वाचन गराएपछि उनको कार्यकारी भूमिका प्रशंसा भइरहेको छ । चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केही दिनमै नयाँ सरकार बनेपछि सुशीला कार्कीको बिदाइ हुनेछ । चुनाव सम्पन्न गराएर वाहीवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले ‘दाँतमा ढुंगा’ लागे जस्तो भएको छ । सामाजिक सञ्जालहरूमा उनको निर्णयको आलोचना भइरहेको छ ।

निर्णय हो जाँदाजाँदै आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई दिएको प्रकृति संरक्षण कोषको नियुक्ति । विगतका सरकारहरूले सरकारबाट बाहिरिने बेलामा यस्ता निर्णयहरू गर्ने गरेका थिए । यस्तै विकृतिहरूमाथि समेत जेनजी आन्दोलनका क्रममा प्रश्न उठेका थिए । प्रधानमन्त्री कार्कीको यो निर्णयले त्यस्तै खालको दृश्य सम्झाएको भन्दै प्रश्न उठेको छ ।

जेनजी आन्दोलनको अर्गमोर्चामा रहेकी रक्षा बमले प्रश्न गरेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ रु यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।’

उनले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झना पनि गरेकी छन् । रक्षाको चेतावनी छ’,होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’ मन्त्रिपरिषद्को बैठकले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय पनि गरेको थियो । तर यो निर्णय भन्दा बढी आलोचना चाहिँ प्रमुख स्वकीय सचिव श्रेष्ठको नियुक्तिप्रति भइरहेको छ ।

श्रेष्ठ प्रधानमन्त्री कार्कीकै स्वकीय सचिवालयमा नियुक्त भएपछि पनि विवादमा आएका थिए । उनले प्रधानमन्त्रीको स्वकीय सचिवालयमा आफ्नै श्रीमति सहितका नातेदारहरूलाई नियुक्ति दिएको खुलेपछि विवाद भएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयमा भएका ती सबै नियुक्तिहरू खारेज गरिएको थियो । अरु नियुक्ति खारेज गरे पनि प्रमुख स्वकीय सचिवमा श्रेष्ठ नै निरन्तर रहे । प्रधानमन्त्री कार्कीका अनुसार श्रेष्ठ उनलाई सहयोग गर्ने निकट व्यक्ति हुन् ।

त्यही व्यक्ति भएका कारण उनले श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएकी हुन् । कोषको संरक्षक प्रधानमन्त्री हुन्छन् । प्रधानमन्त्रीले अध्यक्षमा नियुक्ति दिन सक्ने व्यवस्था छ । त्यही अधिकार प्रयोग गरेर बालुवाटार छोड्नुअघि उनले स्वकीय सचिवलाई नियुक्तिको प्रबन्ध गरिदिएकी हुन् । आइतबार मात्र प्रधानमन्त्री कार्कीले राससलाई दिएको अन्तर्वार्तामा स्वकीय सचिव श्रेष्ठको प्रशंसामा लामो व्याख्या गरेकी छन् ।