महानायक राजेश हमालको नाममा ठगी गर्ने अछामको ढकारी गाउँपालिका अध्यक्ष अध्यक्ष साउद विरुद्ध मुद्दा दर्ता
काठमाडौं । महानायक राजेश हमाल अभिनित चलचित्र ‘अन्धपथ’ निर्माणका लागि सरकारी ढुकुटीको दुरूपयोग भएको खुलेको छ । अछामको ढकारी गाउँपालिकाले फिल्म बनाउने नाममा स्थानीय तहको बजेट दुरुपयोग गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध मुद्दा दायर गरेपछि यो विषय बाहिर आएको हो ।
मुद्दा चलाइनेमा पालिका अध्यक्ष प्रकाशबहादुर साउदसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउद छन् । त्यस्तै, फिल्म निमार्णकर्ता आरजे ट्वान्टी फोर मिडिया प्रालि एवम् नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल उर्फ रामबहादुर लम्साललाई पनि प्रतिवादी कायम गरिएको छ ।
गत फागुन ८ गतेदेखि छायांकन शुरु भएको ‘अन्धपथ’ निर्माणका लागि पालिका अध्यक्ष र निर्देशक रामजीसहितको मिलेमतोमा बदनियतपूर्वक ढकारी गाउँपालिकाले लगानी गरेको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार बजेट नछुट्याई, खरिद आवश्यकताको पहिचान, लागत अनुमान निर्माणलगायत कारबाही नै तयारी ०८१ भदौ १८ गते गाउँपालिका र आरजे ट्वान्टी फोर मिडिया प्रालिबीच चलचित्र निर्माणको सम्झौता भएको थियो । त्यसलाई ढाकछोप गर्न कात्तिक ६ गतेको कार्यपालिका बैठकले १५ लाख पाँच हजारको सम्झौता अनुमोदन गर्यो । तर, सार्वजनिक खरिद नियमावली, २०६४ प्रतिकूल प्रतिस्पर्धाबिनै सोझै खरिद कार्य गर्नुका साथै जमानतबिनै अग्रिम भुक्तानी (पेश्की) ५८ प्रतिशत दिएको पाइएको अख्तियारको ठम्याई छ । जबकी कानूनी सीमाअनुसार जमानत राखेर पेश्की २० प्रतिशतमात्र दिन पाउने व्यवस्था छ ।
साथै, सम्झौता पालिका र आरजेबीच भएपनि भुक्तानी कार्य नवइन्द्रेणीलाई गरिएको पाइएको हो । अख्तियारले अनुसन्धानको क्रममा झुट्टा तथा नक्कली बिलका आधारमा थप खर्च गरेको देखिएको पनि बताएको छ ।
व्यक्तिगत लाभका निम्ति सरकारी रकमको दुरुपयोग गरेको र त्यसलाई ढाकछोप गर्न गैरकानूनी कार्य गरेको ठहरसहित अख्तियारले उनीहरुउपर मुद्दा चलाएको हो । अख्तियारद्धारा आज विशेष अदालतमा दायर अभियोगपत्रमा उनीहरुउपर जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो कायम गरिँदै सजायको मागदाबी गरिएको छ ।


