बालेन्द्र साहलाई दलाई लामाका तिब्बती प्रशासक प्रमुखको बधाई : चीनसँगको सम्बन्धमा आँच आउने शब्द प्रयोग
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री बालेन साहलाई तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले बधाइ दिएका छन् । लामाका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले आफ्नो बधाई पत्रमा लेखेका छन्, ‘हालैको जेन–जी नेतृत्वको आन्दोलनपछि तपाईं नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको,विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।’
उनले नेपाल र तिब्बतबीचको ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पनि स्मरण गराएका छन् । नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख गर्दै नेपालमा बस्दै आएका तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनेका छन् । नेपाल र चीन बीचको असल सम्बन्ध,एक चीन नीतिप्रतिको अटल विश्वासमा आँच आउनेगरी दलाइ लामाका मुख्य प्रशासकले तिब्बती भूभाग जबरजस्ती कब्जा गरिएको आरोप लगाएका छन् ।लेखेका छन्, ‘तिब्बतलाई जबरजस्ती कब्जा गरेपछि तिब्बती समुदायले नेपालमा शरण पाएका थिए ।

आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक र आर्थिक जीवनमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन् । यो सम्भव भएको नेपाल सरकार र जनताको उदारताका कारण हो,जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’
सिक्योंगले बालेनलाई आफ्नो हार्दिक बधाई स्वीकार्न आग्रह गर्दै सफल नेतृत्वका लागि शुभकामना दिएका छन् । लेखेका छन्, ‘तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता अझ सुदृढ हुने आशा छ।’ भारतमा निर्वासित तिब्बती धार्मिक समूहले नेपालका प्रधानमन्त्रीलाई दिएको शुभकामनामा ‘हाम्रा जनताबीचको मित्रता’ भन्नुले गम्भीर आशंका समेत पैदा गरेको छ । निर्वासित तिब्बती सरकारले जेन जी प्रदर्शन र विध्वंशपछि गठित यसअघिका अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अहिलेका बालेन्द्र शाह बाहेक कसैलाई पनि यसरी शुभकामना दिएका थिएनन् ।
अहिले शुभकामनासँगै असल छिमेकीसँग कायम रहेको नेपालको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले तिब्बती भूमि कब्जा गरिएको, तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनिएको र निर्वासित समूहका मानिस र नेपाली जनताबीच जनस्तरको सम्बन्ध र मित्रताको कुरो उल्लेख गर्नुले पनि गम्भीर शंका उत्पन्न गराएको हो ।


