सेवा सुविधा फिर्ता नगरे आन्दोलन गर्ने त्रिवि कर्मचारीको चेतावनी

काठमाडौं, भदौ १८ गते त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले आफ्ना मागहरू सम्बोधन गर्न एक हप्ते अल्टिमेटम दिएको छ । त्रिविले सेवा सुविधा कटौती गरेको विरोधमा आन्दोलनमा रहेको संघले एक हप्ताभित्रमा माग पुरा गर्न भनेको हो ।

त्रिविले विभिन्न निकायमा कार्यरत कर्मचारीहरुले वर्षौंदेखि अतिरिक्त समयमा काम गर्दै प्रोत्साहन स्वरुप प्राप्त गरिरहेको सेवा सुविधालाई चालु आर्थिक वर्षदेखि कटौती गरेको थियो । त्यसको विरुद्धमा कर्मचारीहरू आन्दोलनमा छन् । संघले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कर्मचारीका जायज मागहरुलाई समयमा सम्बोधन नगर्दा पैदा हुने आक्रोशको ज्वारभाटाले कहाँ कति क्षति पुर्याउने हो अहिले नै त्यसको सहज अनुमान लगाउन सकिन्न ।

आजको मितिले सातदिन भित्रमा सुविधा पुनरावलोकन समितिको प्रतिवेदन प्राप्त गरि कटौतीमा परेका सम्पूर्ण सेवा सुविधाहरु लागू हुने सुनिश्चितता गर्न माग गरेको हो । उक्त सुनिश्चितता नभए संघ कठोर भन्दा कठोर संघर्षका कार्यक्रमहरु अघि सार्न बाध्य हुने चेतावनी दिएको हो ।