नगरकोट भ्रमण वर्ष २०८२ का योजनाहरु सार्वजनिक
भक्तपुर । भक्तपुरको चाँंगुुनारायण नगरपालिकाको आयोजनामा हुने नगरकोट भ्रमण वर्ष २०८२ वर्ष दिनभरि चल्ने भएको छ । भ्रमण वर्ष २०८२ वैशाख १ गते उदघाटन भई सो वर्षको अन्तिम दिन अर्थात् २०८२ चैत मसान्तसम्म विभिन्न कार्यक्रमहरु गरी चल्ने जनाइएको हो ।
आयोजक चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वैशाख १ गते उदघाटन भई नगरपालिकाभरि वर्षदिन महोत्सव हुने जानकारी गराए । नगरकोट भ्रमण वर्ष २०८२ को सन्दर्भमा अन्तरनगरपालिका, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरुको भूमिका विषयमा बुधबार नगरकोटमा भएको छलफलमा प्रमुख खत्रीले नगरकोटसँंग जोडिएको चार वटा नगरपालिकाहरुको संयुक्त सहकार्यमा महोत्सव हुन लागेको जानकारी गराए । नगरकोटसँंग जोडिएको भक्तपुरको चाँंगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेको बनेपा र मण्डन देउपुर नगरपालिकाको सहकार्यमा महोत्सव गर्न लागेको जानकारी उनले गराए ।
महोत्सवका लागि विज्ञको रुपमा डा घनश्याम खतिवडालाई नियुक्त गरिएको छ । महोत्सव विज्ञ खतिवडाले नगरकोट भ्रमण वर्ष ०८२ का योजनाहरु सार्वजनिक गरे ।
खतिवडाले चाँगुनारायण नगरपालिकामा रहेको नगरकोटका विशेषता सुर्योदय र सूर्यास्त मात्र नभई यहाँ वरपर रहेका धार्मिक तथा संस्कृतिक स्थलहरु समेत हुन् भन्ने विषय उजागर गरी ऐतिहासिक पौराणिक स्थलहरु समेतमा पर्यटकहरुलाई आकर्षित गर्न, विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वका पर्यटक, अध्ययन–अनुसन्धानकर्ता एवं हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमार्फत सर्वपरिचित गराउन, चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिरको अलावा त्रिशूलडाँडा, शान्ति डाँडा, ज्योतिर्लिंगेश्वर, महादेवपोखरी, बाल्मीकेश्वर, भीमेश्वर, कल्पेश्वर, मच्छेनारायण, सरस्वतीस्थान, फैढोका गणेश, मुहानपोखरी, रानी झुला, ब्रम्हायणीहरु, यातु महादेव, बोझीनी ड्याम, चट्टान अभिलेख लगायतका क्षेत्रहरुको समेत परिचय र महत्व उजागार गराइ नगरकोटमा आउने पर्यटकहरुको लागि अन्य क्षेत्रको समेत भ्रमण÷दर्शन गर्न प्रोत्सोहित गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी गराए ।
भ्रमण वर्षको उदघाटन वैशाख १, २०८२ मा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमै हुनेछ । भ्रमण वर्षको दिन उदघाटन कार्यक्रममा ९ वटा वडाबाट वडास्त्तरीय एक एक वटा मौलिकता झल्कने नृत्यसहित राष्ट्रियस्त्तरका सम्बन्धित कलाकारबाट सांस्कृतिक कार्यक्रम हुने जनाइयो । साथै विभिन्न वडाहरुमा निर्धारित साँस्कृतिक कार्यक्रम, साइकिलिङ्ग, चङ्गा चेट प्रतियोगिता, कृषि तथा पर्यटन मेला, खेलकुद कार्यक्रम, रोपाइँ जात्रा, साहित्यिक कार्यक्रम हुने जनाइयो । साथसाथै कुम्ह सागर सांगीतिक सांझ, कल्पेश्वर शिव महापुराण, चाँगुनारायणमा विष्णु महापुराण, सहकारी दिवस सम्बन्धि कार्यक्रम, बुद्धपुर्णिमासंग सम्बन्धित कार्यक्रम, महादेव पोखरी जात्रा, श्रावणी मेलासमेत हुने जनाइएको छ ।
भ्रमण वर्षका अवसरमा चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मका वडाहरुले पनि छुटाछुटै मितिमा छुटाछुटै रुपमा वडागत कार्यक्रम पनि गर्ने जानकारी गराइयो । साथै नगरकोटसँंग जोडिएका अरु नगरपालिकाहरुले पनि आआफनै हिसावले कार्यक्रम गर्ने जानकारी गराइयो ।
विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर यसको महत्व विशिष्ट रुपमा प्रचार गर्ने, यातु महादेव, ज्योतिलिङ्गेश्वर महादेव, मच्छेनारायण, बाल्मीकेश्वर, बागेहिटी (तीनतले शिवलिङ्ग), फैढोका गणेश लगायतका धार्मिक स्थलहरुबारे यथार्थ परिचय दिई पर्यटन प्रवद्र्धन गर्ने, त्रिशूल डाँडा, महादेव पोखरी, मुहान पोखरी, बोझिनी ड्याम, नापी नक्सा बेन्च मार्क,लगायतका ऐतिहासिक पुरातात्विक स्थलको प्रचारप्रसार गर्ने, रानीझुला पुल, जिप लाईन जस्ता मनोरञ्जनात्मक क्षेत्रहरुको प्रचार प्रसार गर्ने, १०८ फिटको सरस्वती मूर्ति (निर्माणाधीन) र १०८ फिटको कल्पेश्वर महादेव मूर्ति (निर्माणाधीन) बारेमा जानकारी गराउने, आन्तरिक पर्यटन प्रवद्र्धनमा ऐतिहासिक चट्टान अभिलेख लगायतको चाँगुनारायण नगरपालिकाभित्रका समग्र पर्यटकीय क्षेत्रको जानकारी गराउने, भारत चिन लगायत तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा वृद्धि गर्ने, अन्तरिक पर्यटन पबर्दन गर्ने अवसर भ्रमण वर्षबाट मिल्ने विश्वास गरिएको छ ।
भ्रमण वर्षको उद्देश्यहरुमा पर्यटन पूर्वाधार विकास मार्फत पर्यटन बजारको विकास विस्तार तथा सुदृढीकरण गर्ने, स्थानीय कला, भाषा साहित्य तथा संस्कृतिको प्रवद्र्धन, प्रचारप्रसार गरी सांस्कृतिक पर्यटनको विकास गर्ने, पर्यटकहरुको उचित सत्कार तथा सुरक्षा प्रवन्ध सहितको पर्यटकीय आवास ब्यवस्थापन गर्न सवै व्यवसायीलाई दायरामा ल्याई वर्गीकरण गरी, न्यूनतम सेवा सुबिधाको गुणस्त्तर मापदण्ड निर्धारण गर्ने, प्राकृतिक स्रोतहरुलाई संरक्षण उपयोग र व्यवस्थापन गर्ने, पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन सूचना सञ्जालीकरण गर्ने, स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवद्र्धन गर्ने राखिएका छन् ।


