राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ । आयोगले हालसम्म १ सय ४३ दल दर्ता भएको तर, निर्वाचनमा भाग लिन १ सय २० दलले निवेदन दिएको उल्लेख गरेको छ । छानबिनपछि १ सय १४ दल मात्रै चुनावी प्रतिस्पर्धाका लागि योग्य ठहरिएको समेत आयोगले जनाएको छ ।आगामी निर्वाचनमा १ सय २ दलले आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् भने ५ समूहमा रहेका १२ दलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा उत्रिने भएको जनाईएको छ ।
मतपत्रमा यस पटक कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुने आयोगले जनाएको छ । निवेदन दिएका मध्ये १३ दलका निवेदन विभिन्न कारणले खारेज वा फिर्ता भएका छन् । आयोगले २०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतका आधारमा ११ दलको क्रमसंख्या तोकेको छ । यी ११ दलका क्रमसंख्या अघिल्लो चुनावमा प्राप्त मतकै आधारमा स्वचालित रूपमा निर्धारण गरिएको हो ।
१ नम्बरः नेकपा एमाले – सूर्य
२ नम्बरः नेपाली काँग्रेस – रूख
३ नम्बरः नेपाली कम्युनिष्ट पार्टी – पाँचकुने तारा
४ नम्बरः राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
५ नम्बरः राप्रपा – हलो
६ नम्बरः जसपा – ढल्केको छाता
७ नम्बरः जनमत पार्टी – लाउडस्पिकर
८ नम्बरः नागरिक उन्मुक्ति पार्टी – ढकिया
९ नम्बरः लोसपा – साइकल
१० नम्बरः नेपाल मजदुर किसान पार्टी – मादल
११ नम्बरः राष्ट्रिय जनमोर्चा – गिलास
१२ नम्बरदेखि नयाँ दलका चिन्ह, १०० नम्बरमा हाम्रो नेपाल पार्टीको लाइक चिन्ह
१२ औँ नम्बरदेखि मतपत्रमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका अन्य दलका चिन्ह राखिएका छन् ।
सबैभन्दा पहिले १२ नम्बरमा देश विकास पार्टीको लौरो रहेको छ भने १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको एकल आँखा रहेको छ । दर्ता भएका नयाँ चर्चित दलमा ३३ नम्बरमा जेनजी आन्दोलनका खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको बासुरी, ५१ औँ नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो, ५७ औँ नम्बरमा नेत्रबहादुर चन्द नेतृत्वको नेकपा माओवादी रहेका छन् ।
यस्तै ६४ नम्बरमा अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीको हात मिलाएको महिला र पुरुष ९समानता०, १०० नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको गोलाकारभित्र बुढी औला उठाएको लाइक आकृति र अन्तिम तथा १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी निर्वाचन चिन्ह रहेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये २ दलले निवेदन खारेज भएको छ । आयोगमा निवेदन दिएकामध्ये २ दलले दिएको निवेदनमा आयोगले अयोग्यता देखिएपछि उनीहरुको निवेदन खारेरज गरेको हो ।
निवेदन खारेज भएसँगै उनीहरु फागुन २१ गतेको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निवेदन खारेज हुने दलमा ज्ञानबहादुर तामाङको जनप्रजातान्त्रिक पार्टी र खगेन्द्रराज अवस्थी नेतृत्वको अखण्ड सुदूरपश्चिम पार्टी रहेका छन् भने जनजागरण पाटीले निर्वाचनमा भाग लिनका लागि दिएको निवेदन फिर्ता लिएको छ । आयोगका अनुसार जनप्रजातान्त्रिक पार्टीको केन्द्रीय समितिको निर्णयको आधिकारिता पुष्टि नभएपछि र अखण्ड सुदूरपश्चिम पार्टीले यसअघि आयोगले गरेको जरिवाना नतिरेपछि आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दिएको निवेदन खारेज भएको हो ।


