प्रहरी सहायक निरीक्षक पुष्कर कार्कीद्वारा ४ महिने छोराका हत्या

काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले चार महिने छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । श्रीमान्–श्रीमतीबीच झगडा हुँदा असई पुष्कर कार्कीले आफ्नो छोराको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। छोराको हत्या आरोपमा उनलाई आइतबार साँझ ६ बजे प्रहरीले पक्राउ गरेको बताइएको छ । असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारका विषयमा झगडा भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ ।

उपचारका विषयमा झगडा हुँदा उनले श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक बयानमा खुलेको एसपी भट्टराईले बताउनु भएको छ । असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन्। श्रीमतीमाथि कुटपिट र छोराको हत्यापश्चात् कार्की कोठाबाट भागेका थिए।कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घाइते श्रीमतीको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भरहेको छ।