व्यक्तीको विवरण फेरेर राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने २ जना कर्मचारी पक्राउ

काठमाडौं । व्यक्तिका विवरण हेरबदल गरेर सेटिङमा राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को एक टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ । पञ्जीकरण विभागका कर्मचारी २८ वर्षीय सुनित रेग्मी र उनीसँगै अर्का प्रतिवादी गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाललाई पक्राउ गरिएको बताइएको छ ।

गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेको प्रहरीले बताएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद काठमाडौं जिल्ला अदालतबाट थप भएको छ ।