निर्धारित समयमा नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने छौ : भौतिकमन्त्री घिसिङ
काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड विस्तारको काम अवको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई कारबाही गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चेतावनी दिएका छन् । सो सडक खण्डको शनिबार राती अनुगमन गर्ने क्रममा ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम सम्पन्न गर्न र तोकिएको समयमा सम्पन्न नभएमा कारबाही गर्ने चेतावनी दिएको बताइएको छ ।
उनले ‘सडक विस्तारमा केही सुधार भए पनि सन्तोषजनक नभएको बताउदै असारसम्ममा ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले सम्पूर्ण काम सम्पन्न गरेर प्रोजेक्ट नै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ, त्यसपछि कुनै पनि हालतमा म्याद थपिँदैन, होइन भने जरिवाना तिराइने उनले बताएका छन् ।
पछिल्लो समय तेस्रो पटक थपिएको म्याद साउन ७ गते सकिँदैछ । हालसम्म ७७ प्रतिशत भौतिक प्रगती भएको कम्पनीले जनाएको छ । आगामी जनवरीभित्र एकतर्फी र साउन ७ गतेभित्रै सम्पूर्ण काम सक्नुपर्ने सर्त छ । तर अन्यत्र एकतर्फी काम सकिएको भए पनि दाउन्नेको सकस भने अझै कम हुन सकेको छैन । कावासोतीको केरुङ्गे खोला, चोरमारा र आरुङखोलाको पुल निर्माणको काम अझै सकिएको छैन भने चोरमारा, आरुङखोला र दुम्किवासको बजार क्षेत्रमा एकतर्फी सडक कालोपत्रे हुन पनि सकेको छैन । मन्त्री घिसिङले दाउन्नेको सडकका कारण यात्रुले सास्ती पाइरहेको भन्दै यात्रा सहज बनाउन पनि निर्देशन दिएका छन् ।


