अन्नपूर्ण होटलका मालिक कपिल र सिर्जना राणाको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
काठमाडौं । राजस्व अनुसन्धान विभागले १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट भएको ३२ लाख बढी अमेरिकी डलर अपचलनको छानबिन सुरु गरेको छ । दरबार हत्याकाण्डबाट राजा वीरेन्द्रको वंशनाश भएपछि स्वतः नेपाल ट्रस्टमा जानुपर्ने राजपरिवारको नाममा रहेको सम्पत्ति किर्ते र जालसाजी गरी नक्कली मालिक खडा गरी डेला होटल अन्नपूर्ण कपिल राणा र उनकी श्रीमती सिर्जना राणाको नाममा राखिएको थियो । उक्त होटलको विभिन्न बैंकमा रहेको खाताबाट राणाद्वयले ३२ लाख अमेरिकी डलरभन्दा बढी रकम अपचलन गरेको उजुरी परेको १२ वर्षपछि विभागले छानबिन सुरु गरेको हो ।
होटलमा मालिक–मालिक्नी बनाएर भित्र्याइएका कपिल र सिर्जनाले ३२ लाख अमेरिकी डलरभन्दा बढी रकम अपचलन गरेको भनी २०७१ सालमै राजस्व अनुसन्धान विभागमा उजुरी परेको थियो । कारबाहीको लागि दबाब सिर्जना भए पनि त्यसताका अर्थमन्त्री बनेका माओवादी नेता कृष्णबहादुर महराले पहिले र पछि पर्यटन मन्त्री बनेका एमाले नेता आनन्दप्रसाद पोख्रेलले त्यसमा छानबिन अघि नबढाउन दबाब दिएका थिए । महराले दुई लाख डलरभन्दा कम बिगो कायम गर्न दबाब दिएपछि राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकले सरुवा मागेर अर्थ मन्त्रालय गएका थिए ।
दुई लाखभन्दा बढी विदेशी मुद्रा अपचलनमा आरोपीलाई हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने भएकाले होटल अन्नपूर्णको कपिल र सिर्जनालाई पक्राउ नगर्न महराले त्यसरी दबाब दिएका थिए । लुकाइएको दरबारको सम्पत्तिमा आफ्नो हिस्सेदारी लिने क्रममा होटल अन्नपूर्णमा पछिल्लो पटक पूर्वप्रधानमन्त्री केपी ओलीका तर्फबाट व्यवसायी मीनबहादुर गुरुङ र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट विवादास्पद व्यवसायी उमेश श्रेष्ठलाई साझेदारको रूप दिएर छिराइएको छ भने होटल अन्नपूर्णजस्तै नेपाल ट्रस्टमा जानुपर्ने भनिएको नुवाकोटको शेरा दरबारको स्वामित्व माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र तथा पूर्वसुकुमवासी विकेश श्रेष्ठको नाममा सारिएको छ ।
विघटित दरबारको नामको सम्पत्ति राजनीतिक दलका ठूला–ठूला नेताले यसरी भागबन्डा गरेर खाइरहेको अवस्थामा होटल अन्नपूर्णकोे खाताबाट डलर अपचलन भएको भनेर १२ वर्षअघि परेको उजुरीमाथि हालै परेको अर्को उजुरी समेत जोडेर विभागले अनुसन्धान थालेर विवरण संकलन गरिसकेको बुझिएको छ । त्यसरी अपचलन गरिएको अमेरिकी डलरमध्ये अधिकांश रकम बेलायतबाट निकालिएको पाइएको छ । होटल अन्नपूर्णको नाममा नबिल बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र एभरेष्ट बैंकमा डलर खाता खोलिएको थियो ।
राणा दम्पतीले डलर खाता क्रेडिट कार्ड कारोबार र पीओएसमार्फत त्यसरी अमेरिकी डलर अपचलन गरेका थिए । होटलको नाममा रहेको नबिल बैंकको खाता नं. १०१०११००२२०१, कुमारी बैंकको खाता नं. १३०१८४००१९२०८०१०, हिमालयन बैंकको खाता नं. १९०११८२१२००२३, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता नं.१०१०१००५९३३२ र एभरेष्ट बैंकको खाता नं. १४००५०१२०६१८४ बाट कपिल र सिर्जना राणाले आफूखुशी एटीएम कार्ड र क्रेडिट कार्ड प्रयोग गरी पैसा निकाल्ने गरेका थिए ।
तत्कालीन समयमा राणा दम्पतीले होटलको नाममा रहेको डलर खाताबाट पैसा निकालेर आफूखुशी प्रयोग गर्ने गरेको समाचार प्रकाशन भएपछि तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकले डलर खाता समेत रोक्का गरेको बताइएको थियो । राणा दम्पतीले आफ्नो छोराछोरीको पढाइको लागि एकैपटक हिमालयन बैंकको डलर खाताबाट बेलायतमा १२ लाख निकालेर अपचलन गरेको विषयमा आर्थिक दैनिकले समाचार प्रकाशन गरेको थियो । विभागमा १२ वर्षपछि अनुसन्धानको लागि पुनः परेको उजुरीमा बैंकको सबै डलर खाता, क्रेडिट कार्ड, पीओएस कारोबार र लेखापरीक्षण अभिलेख संकलन गरी अनुसन्धान गर्न माग गरिएको छ ।
उजुरीमा विदेशी मुद्रा विनियम ऐन २०१९ र प्रचलित कर ऐनबमोजिम कारबाही तथा असुलउपर गर्न र दुरुपयोग भएको विदेशी मुद्रा रकम ‘ट्रेसिङ’ तथा ‘रिकभरी’ प्रक्रिया सुरु गर्न माग गरिएको छ । विभागमा परेको उजुरीमा कपिल राणाले अन्नपूर्ण होटलको आफ्नो नाममा रहेको ८ प्रतिशत सेयर ७५ करोडमा व्यवसायी मीनबहादुर गुरुङलाई बिक्री गरेर वित्तीय अनियमितता गर्नुको साथै सेयर बिक्रीपछि पनि होटलको जग्गा तथा सम्पत्ति गुरुङकै कम्पनीलाई भाडामा दिएर अनियमितताको प्रमाण नष्ट गर्न खोजेकोले यसको अनुसन्धान तीव्र गतिमा गर्न माग गरिएको छ । (साभार : आर्थिक दैनिक)


