बजारभरि गुणस्तरहिन जार र बोटलको पानी बिक्री : नियन्त्रण गर्न सरकारको छैन ध्यान !!!
काठमाडौँ । काठमाडौं उपत्यकामा जार र बोटलको पानीलाई सबैभन्दा बढी विश्वासिलो मानेर पिउनका लागि प्रयोग गरिदै आएको छ । तर, काठमाडौं उपत्यकाका खुद्रा पसलदेखि स्टोरसम्म बेच्न राखिएका बोटल र जार हेर्ने हो भने ती जारको पानी किनेर खान मन लाग्ने छैनन् । अधिकांश पसलमा बेच्न राखिएका जार थोत्रा, कुच्चिएका, मिति नटाँसिएका, दुई÷तीन वटा स्टिकर टाँसिएको देख्न पाइन्छ । पानीको अभावको मौका छोप्दै विभिन्न नामका पानी उत्पादक कम्पनीले प्रशोधन गरेर आफूहरूले पानी सिधै पिउनयोग्य बनाएको दाबी गर्दै आए पनि बजारमा पाईने अधिकाशं पानी गुणस्तहिन रहेको पाइएको छ ।
अहिले उपत्यकामा घरभित्र मात्र होइन, चिया पसलदेखि ठूला तारे होटलमा जारकै पानी प्रयोग हुँदै आएको छ । उपभोक्ताले जारको पानी ढुक्क भएर पिउने गरेसंगै मन्द विषको रुपमा पानी प्रयोग हुदै आएको बताइएको छ । जारका पानीमा उद्योगको लापरबाहीका कारण बेलाबेला फोहोर, लेउ, किरो भेटिने गर्छ । उपभोक्तासम्म आइपुगेका पिउने पानीका जार राम्रोसँग सिल नभएको, जारलाई टेपले टालेर ल्याइएको पनि भेटिन्छ । पानी उद्योगीहरूले लगातार सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहँदा सरकार भने सामान्य अनुगमनमा मात्रै सीमित रहेको छ । अनुगमनको मुख्य जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले औपचारिकता पुरा गर्दै आएको छ भने अनुगमन गरेका कम्पनीहरुलाई सामान्य चेताबनी दिदै उन्मुक्ती समेत दिदै आएको छ ।
काठमाडौं टोखामा रहेको ग्रिनल्यान्ड मिनरल वाटर एन्ड बेभरेज प्रालि, रियल माउन्ट एभरेस्ट बेभेरज प्रालि, शरण मिनरल वाटर एन्ड बेभरेज प्रालि र सिटीवाटर एन्ड बेभरेज प्रालिलगायतका पानी खान योग्य नभएको विभागले जनाएको छ । सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको पानीको बोतलमा किरा भेटिएको थियो । काठमाडौं महानगरले पानीमा ‘फिकल कोलिफर्म’ भेटिएपछि विभिन्न ११ ब्रान्डका पानी बेच्ने कम्पनीको बिक्रीमा नै रोक लगाएपनि अहिले ती कम्पनीका पानी विना रोकतोक बिक्री गरिदै आएको छ । महानगरका अनुसार फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ ‘कोलोनी फर्मिङ युनिट’ ९सीएफयू० देखिएको थियो । यो पानी टोखा नगरपालिका–८ स्थित पञ्चरत्न ग्रुपले उत्पादन गर्दै आएको छ ।
टोखा–८ को पिस स्प्रिङ वाटरको अक्वा पिसमा ८० र टोखाकै अक्वा एसएनएस बेभरेजको अक्वा टोखाको पानीमा ३० सीएफयू भेटिएको छ । कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एन्ड बेभरेजले उत्पादन गर्ने कोलभोतेश्वर ब्रान्डको पानीमा फिकल कोलिफर्मको मान ११६ सीएफयू पाइएको महानगरपालिकाले जनाएको छ । गोकर्णेश्वरमा रहेको अक्वा सुन्दरी उद्योगको अक्वा डीबी, कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिंकिङ वाटरको अक्वा र गोकर्णेश्वरकै स्तूपा इन्डस्ट्रीका क्युब प्रोसेस ड्रिंकिङ वाटर बिक्री वितरणमा महानगरले रोक लगाएको थियो तर पछि कमिशन लिदै सेटिङमा विना कारबाही पानी बेच्ने अनुमति दिएइको भन्ने आरोप समेत लागेको छ । बूढानीलकण्ठ कपनमा रहेको एमके मिनरल वाटर उद्योगले उत्पादन गर्ने अक्वा कपनमा फिकल कोलिफर्म मान ४ भेटिएको थियो ।
गोकर्णेश्वरको कोशी मिनरल उद्योगको अक्वा गौरीशंकरमा ३०० भन्दा धेरै सीएफयू भेटिएको थियो । सरकारी अनुज्ञापत्र लिएर काठमाडौं उपत्याकामा मात्र जार र बोतलको पानी उत्पादन गर्ने ३ सयभन्दा बढीका कम्पनी रहेका छन् । तिनले दिनहुँ लाखौं लिटर खानेपानी जार र बोतलमा राखेर बजारमा बेचिरहेका हुन्छन् । तर, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोडिने खानेपानी जस्तो संवेदनशील पेयमा गुणस्तरबारे बारम्बार प्रश्न आइरहेको पाइन्छ । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जार तथा बोतलका खानेपानी उद्योगहरूको गुणस्तर अनुगमन गर्ने गर्दछ । तर विडम्बना, विभागले हाल जार र बोतलका पानीमा एक पटक पनि अनुगमन गरेको छैन ।
यसबाट उपभोक्ताको स्वाथ्यमा प्रत्यक्ष जोडिने विषयमा सरकार कतिविधि मौन बस्छ भन्ने प्रष्ट हुन्छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिकामा खानेपानी तथा बोटलिङ उत्पादनका लागि कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यस मातहत कार्यालयबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरिएको छ । उता उपभोक्ता अधिकारकर्मीहरू जार र बोतलमा गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमाथि ठाडै खेलबाड गरिएको बताउँछन् ।
उपभोक्ता अधिकारकर्मीहरुले काठमाडौं उपत्यकामा अधिकांश जार र बोतलको पानी गुणस्तरहीन हुने गरेको र त्यही बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको दाबी गर्दै आएका छन् । खानेपानी जस्तो अत्यन्त संवेदनशील विषयमा सरकारको अनुगमन मौसमी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । काठमाडौं उपत्यकामा दैनिक ४३ देखि ४७ करोड लिटर पानी आवश्यक पर्ने बताइएको छ । जनसंख्याका आधारमा अहिले काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग हुने गरेको बताइएको छ ।


