राष्ट्रपति पौडेल र विप्लव समुहको भेटबार्ता : कार्की नेतृत्व सरकार भङ्ग गर्न माग
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउदै सुशिला कार्की नेतृत्व अन्तरिम सरकार भंग गर्न माग गरेको छ । शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउदै सो माग गरेको बताइएको छ ।
जेन जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । गणतन्त्रपछिका १८ वर्षमा मौलाएको भ्रष्टाचार, दलीयकरण र बेरोजगारीका कारण जनता सडकमा उत्रिएको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र संविधानको पुनर्लेखन हुनुपर्ने पनि अडान राखिएको छ ।
भदौ २३-२४ को गोलीकाण्ड र विध्वंसका दोषीलाई कडा कारबाही गरिनुपर्ने, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने उनीहरूको सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको सजाय हुनुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गर्नुपर्नेलगायतका माग विप्लवको छ । १० दिनभित्र माग सम्बोधन नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।


