हेली चार्टर कम्पनीमाथी सीआईबीको छापा : विदेश भागे कम्पनी सञ्चालक
काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा फर्जी बीमा भुक्तानी गरेर ठगीधन्दा चलाउने गिरोहमाथि सीआईबीले छापा मारेर अनुसन्धान थालेको छ । केही दिनअघि सीआईबीले ती कम्पनीहरुबाट ल्यापटपसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । विदेशी बीमा कम्पनीबाट बीमा गरेर नेपाल घुम्न आउने पदयात्री विदेशी पर्यटकलाई ट्रेकिङका क्रममा बिरामी बनाउने र उद्दारको नाममा हेलिकोप्टर चार्टर गर्ने र अस्पतालमा पु¥याउने गरिएको थियो ।
अस्पतालको शुल्क र हेली चार्टरको शुल्कमा लुट मच्चाउँदै आएका गिरोहमाथि सीआईबीले छानबिन थालेको हो । स्रोतका अनुसार सीआईबीले एभरेष्ट एसिस्टेन्स, नेपाल चार्टर रेस्क्यु सर्भिस, स्वाकन अन्तर्राष्ट्रिय अस्पताल, माउन्टेन रेस्क्यु, इरा अस्पताल र श्रीद्धि अस्पतालमा छापा मारेर कागजातसहित ल्यापटप नियन्त्रणमा लिएको हो । यी कम्पनीहरुमाथि संगठित अपराध, राज्यविरुद्धको कसुर र ठगीमा मुद्दा चलाउने गरी सीआईबीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै यसअघि पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव हाल अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको आधारमा दोषी देखिएका आठ कम्पनीमाथि पनि छानबिन सुरु भएको छ । उनीहरुको कागजात भने सीआईबीमा यसअघि नै रहेका कारण अनुसन्धान थालिएको हो । यसअघि सीआईबीमा उजुरी पठाइए पनि तामेलीमा राखिएको थियो । जेन–जी आन्दोलनपछि बनेको चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सीआईबीमै पुगेर यसअघि सेटिङमा तामेलीमा राखिएका पुराना फाइल सबै अनुसन्धानका लागि निर्देशन दिएपछि अहिले धमाधम पुराना फाइलमाथि अनुसन्धान सुरु भएको छ ।
सीआईबीमा अध्ययनशील तथा विद्यावारिधिप्राप्त एआईजी डा। मनोज केसी नेतृत्वमा आएपछि पुराना फाइल खोल्ने क्रममा यो संगठीत अपराध तथा ठगीको फाइल पुनः खुलेको हो ।सीआईबीले अनुसन्धान थालेपछि केही व्यापारी रातारात भागेर विदेश पुगेको समेत खुलेको छ । फेक रेस्क्युमार्फत रातारात धनी भएका नेपाल चार्टर सर्भिसका मालिक रविन्द्र अधिकारी रातारात थाइल्याण्ड लुक्न पुगेको बताइएको छ । त्यस्तै इरा अस्पतालका मालिक भानु ढकाल पनि पोर्चुगल भागेको स्रोतको भनाइ छ ।
फेक रेस्क्यु गरेर नै रातारात धनी भएका श्याम कँडेलमाथि पनि सीआईबीले अनुसन्धान थालेको छ ।उनले दर्जनौँ कम्पनीमार्फत फेक रेस्क्युको धन्दा चलाइरहेको पाइएको छ । सीआईबीले उनको सबै कम्पनीबाट कागजात, ल्यापटप र बैंकिङ कारोबार नियन्त्रणमा लिएको छ । कँडेलले आफ्ना भाइको नाममा अष्ट्रेलियामा घरजग्गाको कारोबार लिएकाले उतै भाग्ने तयारी गरेका छन् । पर्वतारोहण संघ नेपालका कोषाध्यक्ष समेत रहेका मुक्ति पाण्डेले त फेक रेस्क्यु गरेरै टेस्ला नामक कार किनेका छन् ।
उनी सीआईबीको अनुसन्धानमा तानिएपछि जापानी नागरिक श्रीमतिसँगै विदेश भाग्ने तयारीमा छन् । फेक रेस्क्युमा संलग्न इरा अस्पतालका सञ्चालकहरुको हेली एभरेष्टमा समेत सेयर रहेको छ । फेक रेस्क्यु धन्दामा, पर्यटक, अस्पताल, ट्रेकिङ कम्पनी र हेलिकोप्टरसमेतको मिलेमतो रहने गरेको छ । लाजिम्पाटस्थित यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासको रुपले चर्चित भवनमा अहिले श्रीद्धि अस्पताल छ । यो अस्पतालका डाक्टर गिर्वान राज तिमिल्सिना फेक रेस्क्यु धन्दाका नाइके हुन् ।
उनले त हेलिकोप्टरको बिल समेत नक्कली बनाउने गरेका छन् । अल्टिच्युड एयरको नक्कली बिल बनाएको र फर्जी बीमा भुक्तानी गरेको विषयमा सीआईबीले छानबिन गरिरहेको छ । उनले नर्वेका एक गैरआवासीय नेपाली नागरिकलाई उद्दार नै नगरी अस्पताल र हेलिकोप्टरको बिल समेत नक्कली बनाएर बीमा दाबी गरेका थिए । डा. तिमिल्सिनाले हजारौँ पदयात्री पर्यटकको नक्कली बीमा दाबी भुक्तानी लिएका छन् । सोही विषयमा अहिले सीआईबीले छापा हानेर उनको अस्पतालबाट कागजात र ल्यापटप समेत नियन्त्रणमा लिएको छ । (आर्थिक दैनिकबाट साभार)


