रास्वापाको समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेक्रम बढ्यो
काठमाडौ । व्यवसायी, व्यापारी र पारिवारिक रुपमा रहेका व्यक्तीलाई समानुपातिकको उम्मेद्धवार बनाई निर्वाचन आयोगमा बुझाएको सूचीबाट अहिले धमाधम आफ्नो नाम फिर्ता लिएको घोषणा गर्न थालेका छन् । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोवल आईएमई ग्रुपका समेत अध्यक्ष रहेका चन्द्र ढककालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।
शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। यसैगरी, आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् । रास्वपाको बन्दसूचीमा परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेकी छन् ।
उनी उज्यालो नेपाल पार्टीको कोटाबाट आदिवासी जनजाति महिलाको क्लस्टरमा समावेश थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मान र जिम्मेवारीको विषय भएको उल्लेख गरेकी छन् । तर, गहन आत्ममूल्यांकनपछि राजनीतिक उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको उनको भनाइ छ ।
डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। लावती र गुरुङ कुलमान कोटाबाट रास्वपाको बन्दसूचीमा परेका हुन् भने तीन जना बालेन कोटाका हुन्। रास्वपामा समानुपातिक सूचीमा परेको नामलाई लिएर चर्को विवाद भइरहेको छ। सभापति रवि लामिछानेले आयोगले दिएको समयभित्र नाम सच्याउने बताइरहेका छन्।


