रामेछापको मन्थली सडक खण्डमा बस दुर्घटना हुदाँ १२ को मृत्यु, १० जनाको सनाखत, सवारी चालक नियन्त्रणमा
काठमाडौं। रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिएका छन् ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको बताएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी ४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी ६ का दीपेश बस्नेत र लिखु ६ की ४५ वर्षीया मानकुमारी बरुवाल रहेका छन् ।
यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका(६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका ८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। केशवसिंह धामीले जानकारी दिए ।
मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उनले बताए । रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए । घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।


