त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। झापाबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने बताएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका बताइएको छ । उनी हेलिकप्टरबाट काठमाडौं फर्कन लागेको बताइएको छ ।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको भएपनि शाहको स्वागतलाई भनेर मानिस भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको हो ।

झापाबाट हेलिकप्टरमा फर्किंदै पूर्वराजा ज्ञानेन्द्र

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने मानिसलाई चेकजाँच कडाइ गरिएको छ । यद्यपि चेकजाँच प्रहरीले गर्ने नियमित कार्य भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले बताए । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।

मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेको सुरक्षा स्रोतले जानकारी दियो ।  मध्यान्ह १२ बजे काठमाडौँतर्फ प्रस्थान गरेका उनी करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।