निर्वाचनलाई भयरहित बनाएर शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन राष्ट्रपति पौडेलको निर्देशन
काठमाडौ. । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा गृहमन्त्री सहित चार वटै सुरक्षा निकायका प्रमुखसँगको भेटघाटमा राष्ट्रपति पौडेलले सुरक्षा प्रबन्ध प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन,’ पौडेलले बताएका छन् ।
भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति थिए।


