धादिङ बेनिघाटमा यात्रुबस दुर्घटना हुदाँ १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते
काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा त्रिशूली नदीको किनारमा खसी दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।
२७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मृतक र घाइतेहरुको परिचय खुल्न अझै बाँकी रहेको बताएका छन् । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् ।
न्यूजील्याण्ड र चिनको नागरिक समेत रहेको बताइएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।
रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘टर्च बाल्दै घाइतेहरुको उद्धार गर्यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो अनुभव भयो,’ घटनास्थलबाट प्रमुख जिल्ला अधिकारी सुवेदीले अनलाइनखबरसँग भने ।
उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए ।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो ।
यसैबीच, धादिङमा मध्यराति भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यो खबरले आफू अत्यन्त मर्माहत बनाएको बताएका हुन्।
उनले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै गर्दै उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


