कमलकिशोर मालपानीको नक्कली नागरिकता मुद्दा मिलाउन विवादीत विचौलिया दिपक भट्टको सेटिङ
काठमाडौं । नेपालमा यशोदा फूड्स, श्रीराम टोबाकोलगायत विभिन्न कम्पनी सञ्चालन गरिरहेका व्यापारी कमलकिशोर मालपानीको नक्कली नागरिकतासम्बन्धी मुद्दामा सेटिङ मिलाएबापत विवादास्पद बिचौलिया दिपक भट्टले गोल्डेन सेयर लिएको भेटिएको छ ।
सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकता प्रमाण पत्र नम्बर ३७—०२—७१—१३६५८ नम्बरको आधारमा उनले रुपन्देहीबाट सक्कली नागरिकता समेत लिएको बारे विभिन्न निकायमा उजुरी परेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले मालपानीको सम्पत्ति जफतका लागि तयारी गरिरहेकै बेला विवादास्पद विचौलिया भट्टले सम्पत्ति शुद्धीकरण विभागको प्रमुख नै हेरफेर गरिदिएका थिए । उनकै सिफारिसमा विभागको प्रमुख बनेर आएका प्रेम भट्टराईले मुद्दा नै गुपचुप पारेका थिए ।
सोही प्रकरण मिलाएबात भट्टको स्वामित्व रहेको हिमालयन एसेस्ट्स नामक कम्पनीले श्रीराम टोबाको नामक कम्पनीमा तीन लाख ७५ हजार थान सेयर हत्याएको हो । भारतीय नागरिक रहेका मालपानीले रुपन्देही जिल्ला प्रशासन कार्यालयमा नक्कली नागरिकताको आधारमा अर्को सक्कली नागरिकता लिएका थिए ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासम्बन्धी कसुरमा उजुरी परे नक्कली र किर्ते नागरिकता बनाउने मालपानीलाई पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।भारतीय नागरिक बालकृष्ण मालपानीका पुत्र कमलकिशोरको नागरिकतामा बाबुको नागरिकता कुन देशको हो, नागरिकताको प्रकार कस्तो हो समेत खुलाइएको छैन ।
यद्यपि ठेगाना भने सप्तरीको हनुमाननगर गाविस ५ रहेको उल्लेख छ । जब कि सप्तरीको हनुमान नगर ५ मा हाल परिवर्तित वडा नम्बर ८ नम्बरमा बालकृष्ण मालपानी र उनका पुत्र कमल किशोर मालपानी भन्ने व्यक्ति नै नभएको स्थानीयबासी बताउँछन् ।
नागरिकतासम्बन्धी ऐन, २०६३ को दफा २१ को उपदफा ९१० अनुसार झुटो विवरण दिई विदेशी नागरिकले नेपाली नागरिकता लिए १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यसरी नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा त्यस्ता कर्मचारीलाई समेत ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय हुने समेत व्यवस्था छ ।
ऐनको दफा २१ को उपदफा ३ मा यस्तो व्यवस्था छ । आफू जेल जानुपर्ने डरले कर्मचारीले मालपानीको नागरिकतामा हस्ताक्षर समेत गरेका छैनन् । मालपानीको नागरिकता शंकास्पद रहेको भनी समाचार सार्वजनिक भएपछि पूर्वप्रधानन्यायाधीश समेत रहेकी चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले त्यस्ता शंकास्पद नागरिकता लिएका व्यक्तिहरूको फायल खडा गरेर राखेको थाहा पाएपछि बिचौलिया भट्टले प्रधानमन्त्री कार्कीसमक्ष छानबिन अघि नबढाउन आफन्तमार्फत दबाब दिन थालेको बुझिएको छ । बिचौलिया भट्ट पछिल्लो समय घण्टी पार्टीको बालेन–सुदन कित्ताको आडमा टिकेको बताइएको छ ।


