राहदानी विभागका महानिर्देशकलाई प्रश्न : कहिलेसम्म झिसमिसेमै उठेर पासपोर्टका लागि लाइन बस्नुपर्ने?
काठमाडौंको नारायणहिटीबाट त्रिपुरेश्वरस्थित सुविधा सम्पन्न भवनमा राहदानी विभाग सरेको एक वर्ष पूरा भइसकेको छ। तर पासपोर्ट (राहदानी) पाउनकै लागि बिहान झिसमिसेमै सर्वसाधारणले लाइन बस्नुपर्ने समस्या अझै हल भएको छैन।
अझ पासपोर्टका लागि आवेदन दिन समेत सर्वसाधारणले समस्या खेपिरहेका छन्। सेतोपाटीका मनोज सत्यालले राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवसँग पासपोर्टको समस्याबारे कुराकानी गरेका छन्।
मानिसहरू एकाबिहानै एक गिलास तातो पानी पनि नखाई पासपोर्ट पाउन लाइन बसेको देख्दा कस्तो लाग्छ? यो समस्या यति ठूलो कसरी भयो?
राहदानी लिनका लागि अहिले समस्या भएको छ। तर यो समस्याको कारण थाहा पाउन अलिकति पछाडि फर्किएर हेर्नुपर्छ। सन् २०२० र २०२१ मा कोभिडका कारण माग अनुसार राहदानी वितरण गरेनौं। २०२२ मा अहिले माग ह्वात्तै बढेकाले समस्या देखिएको हो।
कुनै पनि व्यक्तिलाई पासपोर्ट चाहियो भने सबभन्दा पहिला अनलाइन फारम भर्नुपर्यो। तर फारम भर्न समेत नसक्ने अवस्था किन छ?
काठमाडौंको राहदानी विभागबाट हामी द्रुत सेवा सेवा दिन्छौं। जबकि, ७७ जिल्ला प्रशासन र १७ इलाका प्रशासन कार्यालयबाट हामी आवेदन लिइरहेका छौं। म सेवाग्राहीलाई के आग्रह गर्न चाहन्छु भने यदि राहदानी विभागको द्रुत सेवा आवश्यक छैन भने आफ्नो जिल्लाबाट वा इलाकाबाट राहदानी सेवाका लागि आवेदन दिनुहोस्।


