संसदमा एमाले उपाध्यक्ष बादलले दिएको अभिव्यक्तीलाई लिएर एमाले सचिवालय बैठकको आह्वान

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।

उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका थिए । सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।

एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन । आजको बैठकले उनको अभिव्यक्ति र विकसित घटनाक्रमबारे छलफल गर्नेछ । एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्तिप्रति टिप्पणी गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन्।

पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ। सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले बादलको नाम नलिई लेखेका छन्, ‘हिजो संसदमा षड्यन्त्र’का लामा कथाहरु सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो सबै दोष हरुलाई रु हामी पनि दोषी छौं, यो वातावरण सिजृना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’

उनले ‘घेराबन्दी’मा प¥यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।’ उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्नसमेत आग्रह गरेका छन्। भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए। साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए।

बादलको विवादित अभिव्यक्तिले एमाले वृत्तमा तरंग ल्याइदिएको छ। उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय गर्ने बताएका छन्। दिउँसो एक बजे बस्ने बैठकमा संसदीय दलका नेता बादलले विहीबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने नेताहरुले बताएका छन्। उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने बताएका छन्।