प्रचण्डको ‘ट्रेडमार्क’ दोमन, दुवैतिर वार्ता
दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। संविधान सभाको चुनाव भएकै थिएन। गणतन्त्र घोषणा गरेर मात्र चुनावमा जान पर्ने माग माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दै थिएl
उनका माग बदलिरहन्थे। खासमा त्यो बेला उनको दिमागबाट विद्रोह उत्रिएकै थिएन। त्यस्तो बेलामा प्रचण्डलाई सम्झाउने, फकाउने र कहिलेकाहीँ तर्साउने काम गृहमन्त्री कृष्ण सिटौलाको हुन्थ्यो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने र मुलुकलाई गणतन्त्रमा लैजाने प्रक्रियामा सिटौला कोइरालाका मुख्य सारथि थिए।
सिटौला लामो समयसम्म बालुवाटारमा प्रधानमन्त्री निवास नजिकैको एउटा घर भाडा लिएर बसेका थिए। त्यसले बालुवाटारको भेटघाट सजिलो पार्थ्यो। आउजाउको समय जोगाउँथ्यो।
सिटौला बसेको घरको पूर्वपट्टी सानो बरन्डा थियो। त्यहाँ टेबल र एक-दुइटा कुर्सी हुन्थे।
एक दिन तिनै कुर्सीमा बसेर सिटौलाले प्रचण्डलाई सम्झाए— यत्रो साहस गरेर हामीले शान्ति प्रक्रिया यहाँसम्म ल्याइपुर्याएका छौं। भोलि संविधान सभामार्फत मुलुकको नयाँ संविधान बन्छ। मुलुक शान्तिपूर्ण रूपमा गणतन्त्रमा जाने सम्भावना छ। तपाईं किन तरंगित भइरहनुहुन्छ? किन कहिले के कहिले भन्नुहुन्छ?
प्रचण्डले पनि त्यो दिन मन खोलेर जवाफ फर्काए, ‘सिटौलाजी, म साँच्चै दोमनमा छु। मेरो एकमनले भन्छ, म त शान्ति प्रक्रियामा आइसकेँ, अब यही बाटो अघि बढ्ने हो। संविधान सभाबाट संविधान लेख्ने हो। शान्तिपूर्ण र लोकतान्त्रिक मार्गबाटै अघि बढ्ने हो। जनमतबाट स्वीकृत भएरै सत्तामा पुग्ने हो।’
त्यसपछि उनले थपे, ‘मैले त्यस्तो सोच्दै गरेको बेला फेरि राती दिमाग चकराउँछ। म झल्याँस्स हुन्छु। म त बिद्रोही हुँ। क्रान्तिकारी पो हुँ। यति धेरै मानिसहरू सहिद भएका छन्। क्रान्तिबाट राज्य सत्ता उल्टाउने, जनवाद ल्याउने सपनाको नेतृत्व मैले गरेको हुँ। संसदको भासमा पस्न हुँदैन। यो क्रान्ति बीचैमा छोड्न हुँदैन। यसलाई तुहिन दिन हुँदैन।


