खानेपानी उद्योगहरूको अनुगमन जारी

भक्तपुर
। चाँगुनारायण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित खानेपानी उद्योगहरूको अनुगमन अभियान जारी गरेको छ।

अनुगमन टोलीले आइतबार झौखेलका पाँचवटा थप उद्योगको अनुगमन गरी पानीको नमुना संकलन गरी नगरपालिकामा परिक्षणका लागि पठाएको छ । अनुगमन टोलीले जी.आर. ड्रिंक्स प्रा.लि, स्वस्तिक बेभरेज प्रा.लि, ओएबिएस शुद्ध खानेपानी प्रा.लि, इच्छाकामना बेभरेज प्रा.लि र हेरिटेज बेभरेज प्रा.लिको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता सम्बन्धी अवस्था, बिक्रि भएका पानीको अभिलेख,पानीको स्रोत तथा क्वालिटी रिपोर्टको स्थलगत निरीक्षण गरेको हो। जसमा हेरिटेज बेभरेज प्रा.लिको सरसफाइको अवस्था तथा दर्ता र नवीकरण सम्बन्धी अवस्था सन्तुलित पाइएको छ।

चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालनमा रहेका चारवटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो । तर बिक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग वाणिज्य संघले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो । अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार आवश्यक देखिएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको र उत्पादन स्थल वरपरको स्वच्छता असन्तोषजनक अवस्थामा रहेको पाइएको छ। अनुगमन पछि नगरपालिकाले ७ दिनभित्र अनिवार्य रूपमा नगरपालिका दर्ता प्रक्रिया पूरा गर्नुपर्ने, पानी प्रशोधनको प्रक्रिया अझ व्यवस्थित बनाउन सरसफाइमा ध्यान दिने, लेबलिङ्गमा सुधार गर्ने र गुणस्तरको रिपोर्ट अद्यावधिक राख्ने जस्ता निर्देशन दिएको छ।

नगरपालिकाले आगामी दिनहरूमा निर्देशनको कार्यान्वयन अवस्था पुनः अनुगमन गर्ने जनाएको छ। पालना नगर्ने उद्योगहरूलाई कानुनी प्रक्रिया अनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।