नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

काठमाडौं, ३ भदौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा ओझाले नक्कली शैक्षिक प्रमाणपत्रहरु बनाएर प्राधिकरणको अध्यक्ष भएको औंल्याएसंगै उहाँलाई पदमुक्त गरिएको हो ।

प्रतिवेदनमा बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो ।ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् । साथै, उनको नियुक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

सो उजुरीको अनुसन्धान सुरु भएपछि नियुक्तिका लागि सिफारिस गर्ने सिफारिस समितिका सदस्यदेखि नियुक्ति प्रक्रियामा संलग्न मुख्यसचिव, अर्थ मन्त्रालयका सचिवहरु नै कारवाहीमा पर्ने भएपछि मन्त्रिपरिषदले नै छानविन समिति बनाएर ओझालाई निलम्बन गर्ने र पदमुक्त गर्ने काम गरेको हो । मन्त्रिपरिषदले यस्तो निर्णय गरेपछि अख्तियारले थप छानविन र कारवाही गर्ने बाटो रोकिएको छ ।