Prithvi Post

२२ आश्विन २०८२, बुधबार

काठमाडौं, ३ भदौ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक बन्नुभयो । तीन ओभर बलिङ गर्नुभएका नन्दनले १७ रन दिएर पाँच विकेट हात पार्नुभएको हो । यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुहुँदा आशिफ शेखले २९ रन जोड्नुभयो।

कुशल भुर्तेलले २७ रन बनाउँदा नेपालका लागि लोकेश बमले नटआउट विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो। भीम सार्कीले १८ रन जोड्नुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो।

नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुईदुई विकेट लिनुभयो। १८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सका लागि ब्राडली होपले ३१, चार्ली वाकिम २८ र ज्याक कर्टेन २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। होबार्टविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि नन्दन यादवले पाँच विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एकएक विकेट हात पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0