झापा २ नम्बर क्षेत्रमा सभाभुख घिमिरे र उपसभामुख रानाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । झापा २ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरको रोचक भिडन्त हुने भएको छ । घिमिरे एमालेका उम्मेदवार हुन् भने रानाले रास्वपाबाट टिकट पाएकी छन् । झापा(२ मा रास्वपाले निशा डाँगीलाई उभ्याउने तयारी गरेको थियो ।

रानाले पनि सुरुदेखि दाबी गरेकी थिइन् । नेतृत्वले रानालाई उदयपुर(२ मा लड्न प्रस्ताव गरे पनि उनले मानिनन् । अन्ततः डाँगीलाई झापा(१ मा सारेर रानालाई २ मा टिकट दिइएको हो । उनीहरु दुवै झापा(२ कै बासिन्दा हुन् । राना यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् ।

रास्वपाले उनलाई उपसभामुख बनाएको थियो । उनको कार्यकाल केही विवादित बन्यो। केही व्यक्तिलाई अमेरिकाको भिसाका लागि दूतावासलाई उपसभामुखको लेटरहेडमा लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी थिइन् । सभामुख घिमिरे कुनै ठूलो विवादमा नमुछिए पनि सभा सञ्चालनमा सन्तुलन कायम राख्न नसकेको आरोप खेपिरहनु पर्यो ।

एमाले अध्यक्ष केपी ओलीको इशारामा चल्ने गरेको आरोपबाट उनी मुक्त हुन् सकेनन् । घिमिरे यसअघिको चुनावमा झापा २ बाटै विजयी बनेका थिए ।