निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित भएको छ । माघ १५, १६ र १७ गते काठमाडौँमा गर्ने तय भएको अधिवेशन प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएसँगै रोकिएको हो ।
निर्वाचन आयोगले महासंघलाई पत्र पठाउँदै माघ ४ गतेदेखि नै प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आचारसंहिता २०८२ लागू भइसकेको जानकारी गराएको थियो । आयोगले आचारसंहिता लागू रहने अवधिभर साधारण सभा नगर्न निर्देशन दिएपछि महासंघले पूर्व निर्धारित कार्यक्रम रोकेको हो ।
महासंघको स्थायी समितिको माघ ११ गते बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा तथा निर्वाचनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । महासंघका महासचिव रोशन दाहालका अनुसार निर्वाचन आचारसंहिता हटेपछि कम्तीमा १५ दिनको म्याद राखेर अधिवेशनको नयाँ मिति तोकिनेछ ।

अधिवेशन स्थगित भए पनि यसअघि छनोट भइसकेका प्रतिनिधिहरू भने यथावत् रहनेछन् । महासंघको विधानको दफा ९ को उपदफा १६ बमोजिम हाल कायम प्रतिनिधिहरू नै पछि हुने अधिवेशनमा सहभागी हुन पाउने छन् ।
आयोगको आचारसंहिता महासंघ अन्तर्गतका सबै प्रदेश महासंघ, जिल्ला संघ, एशोसिएट र वस्तुगत संघ सदस्यहरूको साधारण सभामा पनि लागू हुने महासंघले स्पष्ट पारेको छ । महासंघले अन्य विषयको हकमा विधान र यसअघि प्रकाशित सूचना बमोजिम नै हुने जनाएको छ ।


