हृदयाघातका कारण कलाकार सुनिल थापाको निधन
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार नेपालमा छैन ।
श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् । निरौलाले भने, ‘उहाँहरु आइपुग्नुभएपछि मात्र आधिकारिक रुपमा घोषणा गर्ने पारिवारिक तयारी छ ।’
आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने निरौलाले बताए । भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।


