राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्छु : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताएका छन्। चुनावी अभियानका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदैमा नराम्रो मान्न नपर्ने बताए। उनले भने, ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ।
नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ? झापा ५ मा ओलीविरुद्ध रास्वपाका नेता शाह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
एमालेका अध्यक्ष ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन् । शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै अध्यक्ष ओली चुनावी जिल्ला तथा क्षेत्र झापा पुगेका हुन् । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे ।
झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरे । अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व सभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । अध्यक्ष ओली अबको एक साता झापामै रहने बताइएको छ ।


