एमाले अध्यक्ष ओली पक्राउको विरोधमा देशभर जनवर्गीय संगठनद्वारा विरोध प्रदर्शन जारी
काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको छ । काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।
उनीहरू ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । एमालेका कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन थालेका थिए । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो ।
उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो । पार्टीले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।


