सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालद्वारा कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रमुख कार्यकारी अर्याललाई काठमाडौंको पुतलीसडक क्षेत्रबाट पक्राउ गरेको हो । कम्पनीमै कार्यरत कर्मचारी स्रोतले पनि प्रमुख कार्यकारी अर्यालको पहिलादेखिको एउटा मुद्दा बाँकी रहेको र सोही मुद्दामा पक्राउ गरेको बताए ।
सीआईबीले पनि प्रमुख कार्यकारी अर्यालले कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेर आफैँले उक्त सेयर कब्जा गरेको आधारमा पक्राउ गरेको हो । सोही आरोपका विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गर्दा कैफियत देखिएपछि बोर्डले अध्ययन प्रतिवेदन नै सीआईबीमा पठाएर कारबाही गर्न आग्रह गरेको थियो । सोही आग्रहअनुसार अनुसन्धान गर्ने क्रममा सीआईबीले बालेन नेतृत्वको नयाँ सरकार गठन भएलगत्तै प्रमुख कार्यकारी अर्याललाई पक्राउ गरेको छ ।
बोर्डले सन् नेपाल लाइफको सेयर खरिदका विषयमा गरेको अध्ययन प्रतिवेदनमा प्रमुख कार्यकारी अर्यालले आफ्नै सेयर माग आवेदनमा किर्ते गरेको देखिएको थियो । प्रतिवेदनअनुसार प्रमुख कार्यकारी अर्यालले धितोपत्र बोर्डमा पेस गरेको प्रतिलिपि फारममा कुनै पनि किसिमको सेयर कित्ता तथा रकम उल्लेख गरेको देखिएको थिएन । तर पछि पेस गरेको फारममा भने सेयर कित्ता तथा रकम उल्लेख देखिएको थियो । धितोपत्र बोर्डको सोही प्रतिवेदनको आधारमा प्रमुख कार्यकारी अर्यालले सेयर खरिदमा किर्ते गरी अनियमितता गरेको देखिएको थियो ।
बोर्डले गरेको अध्ययनमा समेत कर्मचारी सेयर बाँडफाँटमा कम्पनीले बुझाएको कागजात र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले बुझाएको विवरणमा समेत तालमेल नमिलेको देखिएको थियो । प्रतिवेदनअनुसार कम्पनीको सेयर बाँडफाँट कार्यमा प्रमुख कार्यकारी अर्यालले आफ्नो र कम्पनीमा कार्यरत कर्मचारीको आवेदन नै किर्ते गरेर नियमविपरीत एक लाख चार हजार छ सय ५० कित्ता सेयर आफ्नो स्वामित्वमा राखेका थिए ।
प्रमुख कार्यकारी अर्यालले आफ्नै कम्पनीमा कार्यरत कर्मचारीहरूमाथि सेयर खरिदको नाममा ज्यादती गरेपछि कम्पनीमा कार्यकारी कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत अर्याललाई कारबाही गरीपाऊँ भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी दिएका थिए । कर्मचारीको सोही उजुरीउपर अनुसन्धान गर्ने क्रममा बोर्डले प्र्रमुख कार्यकारी अधिकृत अर्यालले बदमासी गरेको ठहर गरेको प्रतिवेदन तयार गर्दै सोही प्रतिवेदनका आधारमा नियन्त्रणमा लिई कारबाही गरीपाऊँ भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।
धितोपत्र बोर्डको सोही पत्राचारको आधारमा सीआईबीले छानबिन गरी प्र्रमुख कार्यकारी अर्याललाई सोमबार पुतलीसडकबाट पक्राउ गरेको हो । प्रमुख कार्यकारी अर्याल पक्राउको विषयमा कुरा गर्दा कम्पनीका प्रमुख सूचना अधिकारी गणेश चौलागाईले पक्राउ परेको विषयमा आफूले जानकारी पाएको बताए ।
म कामको सिलसिलामा अहिले बाहिर छु, सीईओ सर पक्राउ परेको बारेमा मैले पनि सुने, उहाँको मोबाइल अफ छ, यसबारेमा म विस्तुत बुझ्ने छु, उनले अघि भने, ‘उहाँको पहिलादेखि नै वित्तीय क्षेत्रसम्बन्धी एउटा मुद्दा बाँकी रहेको छ, त्यही मुद्दामा पक्राउ गरेको हुन सक्छ ।’
के थियो कसुर ?
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ (४0 अनुसार झुटा विवरण वा कागजात बनाएको आधारमा बोर्डले कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । सोअनुसार बोर्डले प्रमुख कार्यकारी अर्यालउपर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्नसक्ने व्यवस्थाबमोजिम हदैसम्मको कारबाही गर्न समेत अध्ययन समितिले सुझाव दिएको थियो ।
मिसिल कागजातमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०० बमोजिमको कसुर गरेको देखिन आएकाले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम कसुरमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाण मिसिल कागजात प्रहरी कार्यालयमा पठाउन अध्ययन समितिले सुभाव दिएको थियो ।


