आज नेपाल भारतसँग भीड्दै
भदौ-१८
एसिया कप क्रिकेटमा नेपालले आज (सोमवार) भारतसँग खेल्दै छ । यो खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा रहेका छन् । अर्थात् दुई रोहितको कप्तानीमा रहेका दुईमध्ये एक टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।
सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनै पर्छ । भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीनको अवस्थामा रहेको छ ।
प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई-दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।
समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।
पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २३।४ ओभरमा १०४ रनमै अलआउट भएको थियो । भारत र पाकिस्तानबीचको समूह चरणको पहिलो खेलमा वर्षाले प्रभावित बन्यो । भारतले पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेलको दोस्रो इनिङ सम्भव हुन सकेन ।


